शिष्ट मानव हौँ सदा : पदम दाहाल (कविता )

शिष्ट मानव हौँ सदा : पदम दाहाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३० ।

खाएको चीज देखाई खानु त्यो कति सोख हो ?
झल्क्यो झल्मल पोशाक टल्कायौ कति मोज हो ? ।१।

भाष्य अश्लील डङ्कार चर्कियौ छ कि सुक्ख र ?
आफ्नै इज्जतमा बट्टा लायौ सर्म बढेन र ? ।२।

कालो पेट अझै जालो माकुरी कुरी जन्म त्यो
मैलो जीवन साँचेको अर्थ हुन्छ नसम्झ त्यो ! ।३।

बाँचे भन्दछ बाँच्तैन ठग्छ जस्ले निरन्तर
सुगन्धित हुने कीर्ति राखे होइन्छ अम्मर । ।४।

बाहिरै पसिना धारो बगे निथ्रुक्क हुन्छ कि ?
दुर्गन्धित बनी आफैंँ अमिल्चो तन बन्छ कि ? ।५।

तुच्छ दुर्भाव पालेर खै को आदर हुन्छ र ?
धैलोमैलो मिसाएर कस्तो सर्बत बन्छ र ? ।६।
सभ्य शालीन आचार दिल कञ्चन होस् सधैँ
मान्छे सागर झैँ लाग्ने धीर वन्दन होस् सधैँ ! ।७।

जैल्यै जोडूँ कमाऊँ मैँ चढूँ शिखर भन्छ जो
थैलो तस्करको धन्दा कुख्याति किन बन्छ त्यो ? ।८।

निष्ठा मानवता बिर्सी स्वार्थै स्वार्थ उचालिए
मैलो सोच धनै कालो कमाएर उकासिए ।९।

निर्दयी नखरा पार्ने प्रवृत्ति जुनी हारिदे
मान्छेको छिचरो बुद्घि निम्न वृत्ति निखारिदे ! ।१०।

खाएको विष लाग्ने हो नखाँदा विष लाग्छ र ?
कसैको ईख मानेर भाग्य कैले हरिन्छ र ? ।११।

क्षुब्ध आलोचना फाल्ने शिष्ट मानव हौँ सदा
ब्रह्मतेज लिंदै पुष्टि त्यागौँ अश्लील सर्वदा ! ।१२।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।