अधिकार : रुबि सत्याल (कविता )

अधिकार : रुबि सत्याल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।

धुमिल अँध्यारो सडक पेटीमा
कठ्याङ्गग्रिएर अल्प अल्प तन्द्रामा
लडिरहेछ ऊ
उसले ओढेको तुलमा लेखिएको थियो
बालअधिकार दिवस सफल पारौँ ।

पिठ्यौंले धान्न कठिन
कलिलो बालक मन्द मन्द गतिमा
लड्खराईरहेछ
बोझिलो भार थेग्न मुस्किल उसको काँध दर्फराइरहेछ
आँखामा भरिएका आँशुले था छैन कुन मार्ग लिँदैछ
उज्यालो खोज्दै हिँडिरहेको उसको रफ्तारमा
उसैको झोला यतिबेला बोझ बन्दैछ
परबाट आएको बेतोडको सवारीले
छ्यापिदियो हिलो
सेतो रुवा जस्तो सर्ट पाईन्ट पोतियो बेरङ्ग भएर
सडकभरि छरिए उसका किताब
किताबको पानाभरी लेखिएका थिए
बालअधिकारका नाराहरू ।

वृद्धाश्रमको ढोकामा उभिएकी बुढी आमाको नयन
खोज्दै थियो उहीँ सन्तान
जो छोडेर गएको वर्षौ भयो
निदाउँदिनन् रातभरि
आधा पेट खाएर हुर्काएको सन्तानले
जब छोड्छ आफ्नो धर्म संस्कृति
भासिन्छ पराया भूमिमा फर्किदैन सम्झेर माटो
रुन्छ घर आँगन
बाँझो भएर रित्तिन्छ उर्भर भूमी
घामले धर्तीको अधिकार खोस्यो भने के हुन्छ
पानीले आफ्नो धर्म भुल्यो भने
प्राणीले प्यास बुझाउन को सङ्ग अधिकार माग्छन् होला ।

हिजो मात्र वृद्ध महिलाको अनुहारभरि
पोतियो कालो मोसो
यातनाको चरम सीमा नाघेपछि निभ्यो दियो
उसको छेउमै रुँदै गरेको बालकले माग्दै थियो
भीक्षामा आमाकै प्राण दान
समाज आज पनि परिवर्तनको खोल ओढेर
निमुखालाई पार्दैछन् अचानोमा
ईश्वरको नाउँमा रेटिन्छन
भर्खर फ्रक्रिएका फूल
थाहा छैन ईश्वर रक्षक हो की भक्षक
ठूलो अक्षरले लेखेपनि
सानै अक्षरले लेखेपनि
भुई मान्छेले पनि निर्बाध
सास फेर्न पाउनु पर्छ
ब्रम्हाण्ड साझा हो सम्मान र संरक्षण
भुसुनाकै पनि हुनुपर्छ ।

आकाशमै उड्ने चरा पनि
चारो टिप्न धर्तीमा झर्नुपर्छ
भुल्नु उसले पनि हुन्न आफ्नो धर्म
जो धर्मराजको कलम चलाउछ
दिन रात सबैको भागमा पर्नु पर्छ
मौन बस्नेको पनि
आवाज ठूलो हुनेको पनि
उत्तिकै हक हुनुपर्छ माटोमा
आफुलाई चिन्न खोजिएन भने
छिनिन्छ तिम्रो भागको अमृत पनि
को हुँ म
के हुँ म
बुझ्नु पर्छ तिमीले आफैलाई पनि
पल्टाउन सक्नुपर्छ इतिहास र वर्तमानको पानाहरू
उठ्नु पर्छ सखारै
खोज्नु पर्छ आफ्नो भागको उज्यालो
निदाउनेहरु अन्धकारमै प्राण त्याग्छन्
बिउँझिने हरु कै भागमा पर्छ प्रभाती किरण ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।