भगवानको घर : डा. विश्वदीप अधिकारी (कविता )

भगवानको घर :  डा. विश्वदीप अधिकारी (कविता )

कपन अनलाइन
काठमाडौं, साउन ५।
गल्ली गल्छेडो
टाकुरा देउराली
तराइ हिमाल
जताततै भगवानको घर
आफ्नो आस्थाको भगवानको घर
बनाउने क्रम
एउटा निरन्तर
समय संवेग भइरहेछ ।
कोही रोक्न सकिरहेको छैन
यो मनोवेगलाई
तर ठाउँ–ठाउँमा
भगवानको घर
बनाउँदै हिंड्नेहरूले
अलिकति बुझिदिए
कति जाति हुन्थ्यो
कति सहज हुन्थ्यो
भगवानको घर त
मान्छेको हृदय हो भन्ने
सत्य बोध गर्न ।
विकार, आवरण र विपको
दलदलमा फसेका
उनीहरूले
कहिले
थाहा पाउने हुन्
भगवानको ठेगाना र
गर्नेहुन सायुज्यताको आभास
एउटाले अर्कोलाई
गिज्याउँदा
आफ्नै भगवानलाई
गिज्याइरहेको थाहा हुन्छ
राम्ररी ऐना हेर्न जान्यो भने
मान्छेलाई गोली ठोक्ने भ्रममा
हामी त आफैंनै
भगवानलाई गोली ठोकिरहेका छौं ।
हे भगवानको घर बनाउँदै
लाखेकोझैं मुकुण्डो लगाउने
कस्तुरीजस्ता
रनवन गर्ने
मानिसहरू हो
म त तिमीहरूको हृदयमा नै
भगवान देखिरहेको छु
तर तिमीहरूले
आफ्नो हृदयमा बाँध बाँधेर
मन मन्दिरको बाटो थुनेर
प्रेम रोकेका छौ
यहीँ नै तिमीहरूले
बाटो विरायौ
भत्काऊ बाँध र
प्रवाहित गर प्रेम हरेक प्राणीमा
त्यसबेला तिमीले
कस्तुरीजस्तै
मन्दिर–मन्दिर भौंतारिनु पर्दैन ।
अनि देख्नेछौ
आफ्नै शरीररूपी मन्दिरमा
आफ्नै हृदयमा
सत चित आनन्द भगवानको सायुज्यता
तिमीसँग, आफैंसँग ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।