चीत्कार : गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
ती दुबै कुकुर छिमेकमा सँगसँगै ल्याइएका हुन् । उनीहरू दूरीको हिसाबले ज्यादै नजिक भए पनि दुबै घरमा घेरिएका पर्खालले उनीहरू बिचको दूरी कोशौँ टाढाझैँ लाग्थ्यो । उनीहरू एकाअर्कालाई हेराहेर मात्रै गर्थे तर बोल्दैनथे । पहिलो कुकुर रातभर सुत्थ्यो तर दिनभर मान्छे रोए जसरी रुन्थ्यो । त्यसरी रुँदा उसले पिटाइ भेट्थ्यो ।
एकदिन ऊ झन् धेरै नै रोयो । उसले त्यो दिन पिटाइ पनि नराम्ररी भेट्यो । उसलाई बरन्डामा छोडेर भित्रबाट ढोका लगाइदिए । अझै पनि उसको रुवाइ रोकिएन ।
दोस्रो कुकुरलाई सही नसक्नुभयो । उसले सान्त्वना दिँदै भन्यो, ‘तिमी पनि त्यस्तै छौ । खाली रोइ मात्रै रहन्छौ । नरोएको बेलामा त तिमीलाई माया गरेकै छन् नि त ।’
पहिलो कुकुरले भावविह्वल हुँदै भन्यो ‘साथी ! तिमी वर्षौँदेखि प्यारालाइसिसको सिकार भएकी त्यो घरकी बुहारीको हाम्रोभन्दा दयनीय अवस्था, तिरस्कार र पीडा पलपल नदेखेर त्यसो भन्छौ । यो रुवाइ मेरो आफ्नो लागि नभएर उनको अवस्थाप्रति मेरो तर्फबाट गरिएको चीत्कार हो ।’
तपाइँको प्रतिक्रिया ।