तपाईँ बुझ्नुहुन्न : विश्वजीत गुप्ता बिशाले (कविता )
कपन अनलाइन
काठमाडौं,चैत १०।
तपाईँ बुझ्नुहुन्न,
पढाईमा लगानी गर्दै छु,
खर्च कहाँ हो र ?
डिग्री गर्न खोज्दै छु,
एकै पटक किन्न सक्दैन होला ।
त्यसैले, किन्दै छु किस्तामा ।
प्रमाण पत्र बटुल्दै छु,
हुन त चाहिँदैन होला ।
जाबो प्रमाण पत्र खोज्नलाई,
अमेरिका थोडी न हो ।
नेपालमा त बौद्धिकता,
विवेक र कौसल भए पुग्छ ।
प्रतिभा, ज्ञान र आत्म विश्वासलाई नै
प्राथमिकता दिने हो यहाँ ।
आखिर पढे लेखेको,
बेरोजगार थोडी न छु ।
असी हजार मासिक तलब खाने,
शिक्षक जो हुँ म ।
सडकको अँध्यारोको कुरै छोड,
अब त जीवन नै उज्यलो हुने भयो ।
हो यो सडक किनारमा बल्नु पर्ने,
पोलको बत्तीले गर्दा, जुन छँदै छैन ।
किनकी १० बर्ष कुर्न पर्दैन त्यसको लागि ।
सबै नेता फटाहा कहाँ हुन्छन् विचरा ?
दिनरात खटेर गोली ठोकेर भएपनि,
जनताको रक्षा हुने देशमा,
अब के नै चाहियो र ?
मैले सुनेँ विमानस्थलमा सुन भेटियो रे ।
नौलो के छ यसमा?
खोजी गरे हिरा नि भेटिन्छ ।
नेपाल हो नि त ।
मेरो देशको भूमिमा बहुमूल्य वस्तु नै फल्छ ।
नेपाली जनतलाई गरिब ठानेको हो र ?
खै किन आफ्नो जन्मभूमीको,
अत्यन्तै माया लाग्छ,
छाडेर कतै जान मन लाग्दैन ।
यहाँका गाउँका राजमार्गमा,
महङ्गा गाडी कुदाउन मन लाग्छ ।
राजमार्गका दायाँबायाँ तर्फको स्विमिङ्ग पूलमा,
पौडी खेल्न मन लाग्छ ।
कलकारखाना, पुराना गाडीहरूबाट
निस्केको धुवाँले ता,
कति आनन्द दिने हो कति ?
त्यसको अतो पतो छैन ।
जनवार पनि संरक्षण भएकै छन् ।
न लोपोन्मुख न राष्ट्रिय जनावर बाँच्न बाँकी छन् ।
पहिला पहाड अब तराई पनि,
हरिया रुखले ढाकिने भएको छ ।
सुनेको ट्राफिक नियम यहाँ जस्तो,
अन्त कहिँ छैन रे ।
राति राति नी गोजी छाम्छन्,
वैकल्पिक, पैसा छ की भनेर ?
लाइसेन्स, बिलबुक र हेल्मेट नभए ता हुन्न,
रुपियाँ छैन भने ?
फेरी गाडीको लाइसेन्स निकाल्न,
नविकरण गर्न पनि कति सजिलो हो है ?
समय नै लाग्दैन,
प्रशस्त रोजगार भएको अवस्था छ अहिले,
विदेशबाट युवा फर्केर आउदैँछन् नेपालमा,
त्यति मात्र कहाँ हो र ?
कतिपय विदेशी पनि काम नपाएर,
नेपालमै आएका छन् रोजगार खोज्न ।
दिन प्रतिदिन चमत्कार भै रहेछ यहाँ,
अझै धेरै कुरो भन्नु छ तर,
अहिले के भनम ?
कसरी बुझाम ?
पछि फेरी सटाएर दिम्ला नि ।
आजलाई छाड्नोस् ।
र’नदिनोस् ।
धेरै भयो भने,
सायद, तपाईँले फेरी बुझ्नुहुन्न होला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक