लौ नाच्न थालेँ मता : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं,चैत १०।
नाच्छन् अक्षर यी नचाउन सके चाहिन्छ नौलो कला
नाच्छन् ताल मिले पहाड पहरा बेशीँ उचा श्रृङ्खला
नाच्छन् घाम र जून छम्छम सगैँ ताराहरू नाच्दछन्
नाच्छन् याम घुमी घुमीकन सबै नाचेर नै बाँच्दछन् ।।१।।
नौलो नाच सिकाउनै प्रकृतिले ल्यायो नयाँ पालुवा
ढुङ्गा ड्म्डम डम्म बज्दछ जहाँ टेक्दा बन्यो वालुवा
हेर्ने हो म भनी सुटुक्कन गयो अग्लाइमा टाकुरा
गाह्रो बाँच्न हुनेछ लौन नि भनी छन् त्रासमा आँकुरा ।।२।।
नाच्छन् नित्य नदी र ताल खहरे आफ्नै कला तालमा
घण्टा मन्दिरभित्र नाच्दछ सधैँ आफ्नै गला तालमा
नाच्छन् बादलका सबै दलहरू आकाशमा छम्छमी
थोपा सागर नाच्दछन् हर पला यै सिर्जनामा रमी ।।३।।
नाच्छन् बोटहरू रमाउँन भनी नाच्दैछ हावा पनि
नाच्छन् ओठहरू चपाउँन भनी भिन्नै छ बुझ्ने ध्वनि
नाच्छन् हातहरू म नाच्दछु भनी पालो कहाँ कुर्दछन्
हार्छन् नाच्न सकेन छम्छम भने कालो कुना छिर्दछन् ।।४।।
नाच्दै पुग्छ किसान खेत दिनहूँ बोकी हलो वा जुवा
नाच्दै पुग्दछ प्यास हत्पत कतै खोजेर धारा कुवा
आमा नाच्नु छ यैँ भनी प्रसवको खप्छिन् ठुलो वेदना
बेग्लै गर्दछ मृत्यु नाच जगमा नाच्दैन को लौ भन ।।५।।
नाच्दै जाँचहरू लिइन्छ जगमा नाच्छन् स्वयं जाँचकी
नाङ्गै नाच्छ कुकर्म, रक्तिम बनी नाच्छन् यहाँ घातकी
सत्ता नाच्दछ रङ्ग ताल उसकै हेरोस् ननाच्दै कता
सारा नाच्न कुदे ननाच्नु कसरी लौ नाच्न थालेँ मता ।।६।।
सहकार्य : कपन बानेश्वर साहित्यिक