हाँसो नभुल्नू तिमी: त्रिलोचन आचार्य (कविता)

हाँसो नभुल्नू तिमी: त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
१. आएछौ तिमी धन्य ढुक्क मन यो बन्दै छ मेरो अब
आत्तिन्थ्यो दिल किन्तु शान्त मन यो बन्दैछ मेरो अब
के चाहिन्छ र चाहिँदैन घरको चासो नभुल्नू तिमी
मेरो चित्त कुडिन्छ किन्तु अघिको हाँसो नभुल्नू तिमी ।

२. काँडाले अझ कोर्न सक्दछ त्यही छन् गाउँ पाखा वन
खोज्दा कुद्न समाउला पयर ती आएर लुच्चो धन
के जान्छ र भएर खै धन सँगै भन्ने गरी आदत
हाँस्दै बस्न सिकी गुलाबका सँगमा आऊ गरेँ स्वागत ।

३. माटोमा पसिना छरे हर कुरा फल्ने यहीँ खेत छ
गर्मीमा किन पर्नु सन्तुलित झन् यैँ माघ यैँ जेठ छ
आशा राख्न सकिन्छ हो तर यहाँ यौटा कुरा भन्नु छ
अग्ला शैल समान दुख्ख सुखमा मुस्काउँने बन्नु छ ।

४. को आए र गए सँगै सब जना जाने त एक्लै न हो
को टाढा को यहाँ हुने नजिकका ठाने त आफ्नै न हो
के देखेर समुद्रमा नद नदी नाचेर पुग्छन् त्यहीँ
दौडिन्छन् खहरे नदी तरफझैँ हाँसेर आऊ यहीँ ।

५. देख्छौ बोटहरू सबै शिशिरमा नाङ्गो बनेका कति
देख्छौ वाध्य परी परी नद नदी बाङ्गो बनेका कति
मात्रै प्रेम सफा सुकर्म पथमा गाँसेर आऊ तिमी
फर्की आउँछ रे वसन्त सबमा हाँसेर आऊ तिमी ।

६. हाँस्दै उठ्छ अहो मिले समय त्यो यौटै फिलिङ्गो पनि
हाँस्दै मन्दिरमा दिँदै छ कसरी आशीष ढुङ्गो पनि
हाँस्दै प्राण दिए जहाँ सहिदले के हुन्छ हाँसो पर
क्यै चाहिन्न गरेर हिम्मत दरो हाँसेर आऊ घर ।

७. हाँस्ने लक्ष्य लिई फुले कुसुम यी माला बनून् वा नहुन्
हाँस्ने लक्ष्य लिई उठे दिनहरू मान्छे उठुन् वा सुतून्
हाँस्नै खातिर जून छन् गगनमा होस् मेघ जैले जहाँ
क्यै नासिन्न नि हौसला रहिरहे हाँसेर आऊ यहाँ ।

८. आँखा बन्द गरेर हेर त त्यहाँ कस्तो खुला फाँट छ
त्यैँ छन् सूर्य र चन्द्रमा चहकिला कस्तो सफा ठाँट छ
लोभी चित्त गरेन चल्मल भने रित्तो कहाँ को छ र
आऊ हाँस्न, भुलेर राम रमिता वा दुख्खको सागर ।

९. हाँस्दै छन् नभमा चरा गणहरू गर्दै सधैँ चिर्बिर
हाँस्दै कुद्छ हवा मिठो रहरमा गर्दै सधैँ सिर्सिर
को आफन्त छ के छ दौलतहरू कुद्छन् रमाई यिनी
हाँस्दै आउँनुपर्छ निभ्न नदिई उत्साहको रोशनी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।