ऐँठन बनाउने उपन्यास ‘ऐँठन’ : प्रशुराम अधिकारी (समिक्षा)
कपन अनलाइन
काठमाण्डौ,फागुन ५।
वि. सं. २०७९ सालको मदन पुरस्कार विजेता कृति ‘ऐँठन’ उपन्यास पढियो । उपन्यासले धेरै ठाउँमा ऐँठन बनायो । नेपाली इतिहासको एक कालखण्ड माओवादी सशस्त्र द्वन्द्वको समयको घटनालाई टिपेर बुनिएको उपन्यासले सोही समयलाई भोगेर हुर्किएको मलाई धेरै ठाउँमा स्मृतिमा पु¥याएको छ । ति दर्दनाक घटनाहरुको वर्णन पढिरहँदा आङै सिरिङ्ग बनाएको छ । भावुक र आँसु चुहिनेसम्म बनाएको छ । हिंसा कदापि सत्य र सही नलाग्ने मलाई पुनः एक पटक हिंसा विरोधी कित्तामा सशक्त रूपमा उभ्याएको छ ।
उपन्यास बबनकुमार नामका एक युद्धबन्दी पात्र वरीपरी घुम्छ । उनको मानसिक स्थितिबाट उपन्यास सुरु भएर संसारभरीका युद्धबाट प्रभावित युद्धबन्दी पात्रहरुको फ्ल्यासब्याकमा गएर उनीहरुले युद्धका समयमा भोगेका घटनाहरुमाथि उपन्यासले विवेचना गर्छ ।
माओवादी छापामार र सेनाको भिडन्तमा परी आफ्नै घरमा घाइते भएकी श्रीमती उर्मिलालाई उपचारका लागि बोकेर छोरा प्रल्हादसँगै स्वास्थ्य चौकी लैजादै गर्दा शिक्षक बबनकुमार दोहोरो भिडन्तमा छोरा र श्रीमती दुवै गुमाउँछ । छोरा र श्रीमतीलाई छापामारहरुले खनेर गाडिदिन्छन् र उनीहरुको चिहान खोतल्दाको प्रतिकारमा ऊ विना कुनै अपराध अमानवीय तवरले अपहरणमा पर्छ र कैयौँ दिनसम्म ऊ छापामारहरुसँगै विक्षिप्त युद्धबन्दी भएर विभिन्न जनकारबाही र भिडन्तहरुको साक्षी बन्न पुग्छ ।
उपन्यास पढ्दा प्रेम र युद्धमा जुनसुकै कुराहरु पनि जायज हुने रहेछ भन्ने कुरा अनुभूत हुन्छ । वास्तवमा युद्ध मानव जातिका लागि हानिकारक छ भन्ने कुराको वकालत उपन्यासले सशक्त रूपमा गरेको छ । ‘चेतनाको जन्मसँगै हतियारको मृत्यु हुनुपथ्र्यो ।’ ‘किन चेतनाको जन्मसँगै हतियारको मृत्यु भएन त ?’ जस्ता संवादहरु मानवतावादी दृष्टिकोणबाट उच्च लाग्छन् । स्वाभावैले शान्तिप्रेमी बबनकुमारका माध्यमबाट लेखकले उपन्यासभर शान्तिको गीत गाइरहन्छन् । तर अन्त्यमा युद्धरहित समाजको परिकल्पना गर्न भने लेखक चुकेका छन् । सायद हतियारले भरिपूर्ण विश्वमा त्यो सम्भव नभएर पनि हो की ? संसारमा केही सन्काहा व्यक्तिहरुको अहममा युद्धहरु भइरहन्छन् र त्यसको परिणाम निर्दोष र निहत्थाहरुले भोगिरहनु पर्छ भन्ने यर्थाथ उपन्यासले पेश गरेको छ ।
जुनसुकै युद्धमा दुइ पक्ष हुन्छन् तर उपन्यास पढिरहँदा अधिकांश एकपक्षिय युद्धको मात्रै व्याख्या वर्णनले लेखकमा तत्कालिन विद्रोहीप्रति पूर्वाग्रही भएकी भन्ने लाग्छ सक्छ । तर, मेरो बुझाइमा यो सामाजिक विद्रोहको विरोधभन्दा पनि हतियारको उन्मादमा भएको युद्धको विरोध मात्रै हो ।
उपन्यासको पात्रलाई आफूले सर्वस्व गुमाएको त्यो एक क्षणले जीवनभर ऐँठन बनाइरहन्छ । नेपाली समाजका लागि ऊ एक मात्र त्यस्तो पात्र होइन । त्यस्तै ऐँठन भोगिरहने अनेकौँ पात्रहरु हाम्रो समाजमा प्रशस्त पाइन्छन् ।
इतिहासमा घटित जनयुद्धले समाजमा त्यतिबेला त्रासमात्रै फिजाएको थिएन । परिवर्तनको केही आश पनि जगाएको थियो । उपन्यासमै पनि यस कुराको सुषुप्त रूपमा छनक पाइन्छ । तर त्यतिबेला जागेको आशालाई जनयुद्धकै नेतृत्वकर्ताहरुले पछि आफ्नै हातमा डाँडुपन्यु हुँदा पनि व्यक्तिगत स्वार्थमा चुलुम्म डुबेर निराशामै बदल्नुले चाहिँ युद्धलाई झन प्रत्युपादक सावित गरायो ।
उपन्यास प्रस्तुती एकदमै उत्कृष्ट छ । सुरुदेखि अन्त्यसम्म उपन्यासको भाषा र शैलीले पाठकलाई बाधेर राख्छ । ‘ऐँठन’ प्रस्तुती र भाषाशैलीका दृष्टिबाट उत्कृष्ट लागेको छ । समाजमा हतियारविहिन शान्ति नै मानविय अस्तित्वका लागि आवश्यक छ भन्ने उपन्यासले दिएको सन्देश प्रेरणादायी छ । शान्तिको लागि क्रान्तिको आवश्यकता छैन ।
युद्धले केही जागरण ल्याएको पक्का हो तर त्यो भन्दैमा विध्वंसलाई बिर्सिन मिल्दैन । त्यस युद्धले विकासलाई समयभन्दा पछि धकेल्यो र त्यही त्रासदीले नेपालीलाई विदेशिन बाध्य बनायो । बम र गोली बाहेक पनि परिवर्तन गर्न सकिन्थ्यो भन्ने सन्देशले पाठकलाई उपन्यासले युद्ध समर्थक बनाउनै सक्दैन ।
लेखकले बबनकुमारले भोगेको यातनामार्फत् शसक्त रूपमा युद्धको क्रुरता व्यक्त गरेका छन् । मानवीय संवेदनालाई गहिरो गरी पगाल्ने लेखकको शैली उत्कृष्ट छ । काल्पनिक पात्रमार्फत् तत्कालिन समाजको वास्तविकता शसक्त रूपमा प्रस्तुत गर्नु लेखकको सफलता हो । उपन्यासमा आफ्नो तर्कलाई विभिन्न उपकथामार्फत् लेखकले पुष्टि गर्ने प्रयास गरेका छन् । यसले उपन्यासलाई अझ पठनिय बनाएको छ । उपन्यासको एकदमै सुन्दर भनेको उपन्यासको प्लट निर्माण हो । उपन्यासमा लेखकको कथा भन्ने शैलीले पाठकलाई अन्तिमसम्म तान्छ । मानसिक होस् गुमाएको पात्रको परिस्थिति, उसको मानसिक स्थिति र उसले वर्णन गरेका घटनाक्रममा पाठकलाई कही अलमल्याउँछ । जङ्गलमा छोडिएको बबनकुमार अस्पतालसम्म कसरी पुग्यो भन्ने कथाचाहिँ अपुरो छ ।
एउटा मानसिक विक्षिप्त पात्रको माध्यमबाट उपन्यासको अन्त्यतिर लेखकले अहिलेको सामाजिक तथा राजनीतिक परिस्थितिलाई सशक्त रूपमा देखाएका छन् । मैले पढेका उपन्यासमध्ये एउटा उत्कृष्ट उपन्यास ‘ऐँठन’ पनि हो । नेपाली आख्यान तथा उपन्यास पठनमा रुचि राख्ने वा नराख्ने जो कोहीले उपन्यास पढ्दा यहाँले तिरेको मुल्य भन्दा धेरै पाउनु हुनेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक