सहिद : गंगा खड्का (लघुकथा)

सहिद : गंगा खड्का (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,फागुन ५।

धनमाया टि.भी. हेर्दै ओछ्यानमा पल्टिरहेकी  थिइन् । विभिन्न च्यानलका समाचारहरु सहिद दिवसका प्रसङ्गले तातिरहेका थिए । सहिदको पङ्क्तिमा आफ्नो छोराको फोटो  पनि देखेपछि उनलाई आफ्नो छोराले वीरगति प्राप्त गरेको घटनाले शूल बनेर दुखाउन थाल्यो । नजिकै सोफामा बसेर समाचारसँगै सुकसुकाउन लागेकी बुहारीको रित्तो सिउँदोमा गएर उनका आँखा ठोक्किए । उनी पनि बुहारीजस्तै बलिन्द्रधारा आँसु बगाउँदै  विगतको कहालीलाग्दो घटनामा हराएर टोलाउन थालिन् ।

‘हजुरआमा ! तपाईंले त्यतिबेला मेरो बाबालाई आन्दोलनमा नजाऊ भनेर किन नरोक्नुभएको ?’ गर्भे टुहुरो नातिको प्रश्नले  धनमायाको तन्द्रा भङ्ग भयो ।
‘देशमा परिवर्तन ल्याउन  बाबु ।’ उनले किंकर्तव्यविमुढ भएर बोलिन् ।
नातिले बडो जिज्ञासु भएर सोध्यो ‘परिवर्तन भनेको  अहिले भएजस्तै हुनेखाने र बोल्न सक्नेका लागि अझै सुखको  दिन आउने हो हजुरआमा ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।