कलाकार हेम पौडेलप्रति : त्रिलोचन आचार्य (कविता )

कलाकार हेम पौडेलप्रति : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,फागुन ५।

१. तस्वीर कोर्दैथ्यौ हेम, चराका अति सुन्दर
कहिले कविता कोर्थ्यौ भावनाका सरोबर
सोझा साधा इमान्दार देखिन्थ्यो जसको छवि
अझै छौ कृतिमा सग्लो हे चित्रकार !  हे कवि  !
२. हेरी तस्बीर पंक्षीका लेखेथ्यौँ कविता पनि
वातावरणको लागि चरा हुन् भन्दथ्यौ तिमी
कोथ्र्यौ प्रकृतिका साथ चराका दिव्य आकृति
भावनाका बँगैचामा सजायौ कल्पना कति ?
३. चेतनशील भै बाँच्यौ गर्दै कला प्रदर्शनी
देखिँदै छन् सबै चित्रभित्र देदीप्य रोशनी
कतै यथार्थता जस्ता काल्पनिक सरी कुनै
अलौकिक कला साँच्ने क्यानभास भरी उनै ।
४. कैले अक्षरमा दौडे कैले कला छरी घुमे
वन जङ्गल वा चराचुरूङ्गी साथमा रमे
हिमालझैँ यिनी बाँचे सच्चा साधकभै जुटे
होनहार प्रतिभा यी उज्याला कृतिमा उठे ।
५. बाचुञ्जेल सधैँ प्राण देहमा साँच्छ मानव
मरेपछि स्वयं फेरि कृतिमा बाँच्छ मानव
हेम पौडेल बाँच्नेछन् कला र काव्यमा खुली
अर्पिदैछु उनैमा यी भावका पुष्प अञ्जुली ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।