सहिदको सम्मान : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
काठमाडौं,माघ १३ ।
१. छर्ने सधैँ उज्यालो सहिद हुन् शान हाम्रो
गरी सम्मान बोलौँ सहिद हुन् गान हाम्रो
खोज्छन् पुगेर टाढा नित्य मुस्कान हाम्रो
ल्याए बनेर स्रष्टा नौलो बिहान हाम्रो ।
२. भनेनन् विध्न बाधा राखे अर्जुन दृष्टि
पुगी आकाश हेर्छन् प्यारो सुरम्य सृष्टि
निर्देश उनकै खोज्छन् हरेक निचोड हाम्रा
उठान हुन् सहिद ती वा हुन् मुहान हाम्रा ।
३. आगो निले उनैले गाल्नलाई पहाड
धागो बने स्वयं ती भर्नलाई बहार
तार्दै समुद्र लागे आफैँ स्वयं उकालो
उफ्री सामन्त ढाल्यो समाउँदै कठालो ।
४. ती वीरको त हेरौँ सम्मान के छ ऐले ?
शालिक सहिदका भनी सद्भाव के छ कैले ?
आए नि यो व्यवस्ता उस्तै सबै अवस्था
कुद्दे कुदी रहेछन् कुरा गरेर सस्ता ।
५. त्यस्तो निःस्वार्थताका आज निशानी छैनन्
सत्प्रेरणा उकास्ने दिव्य कहानी छैनन्
छन् फूल गणतन्त्री मानौँ सुवास छैन
सपना भए ती ध्वस्त आस्था विश्वास छैन ।
६. गरिमा महान् सहिदको बेच्नै खोज्ने पनि छन्
घाँटी मानवताको रेट्नै खोज्ने पनि छन्
हुँदै छन् सहिद ऐले पकेटमार नै पनि
अचेल सहिदको छैन सम्मानमा रोशनी ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।