मुटु र हृदय : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )

मुटु र हृदय : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ६।

समयको फुर्सदमा
पुस्तक टपक्क टिप्छु
दौडाउन थाल्छु आँखाहरु
पन्ना पन्नामा,
अक्षरहरु हेर्छु
शब्दहरु गन्छु
हरफहरु निहाल्छु
प्याराग्राफ छिचोल्छु
बुझ्न खोख्छु बुझ्दिन
खोज्न थाल्छु भेट्दिन
ती संवेदनाका वासस्थानहरु
यहि फरकता निहालिरहन्छु
पुस्तक भरी ।
तर
नाप्न सक्दिन
यी दुई विचको दुरी
मुटु र हृदय ।
के मुटुको धक् धक्ले
हृदयको चन्चलता बढाउँछ या
हृदयको चन्चलताले
मुटुको धक् धक् बढाउँछ ?
कहाँ बस्छ
त्यो मानवीय संवेदाना ?
के हृदय पोल्दा
मुटु रोगाउँछ ? या
मुटु दुख्दा हृदय पग्लिन्छ ?
यिनै थुप्रै अनउत्तरित
प्रश्नहरुको चाङमाथि
अल्मलिरहेछु ।

भगवान नै भन्छन
यसको सहि उत्तर त
भगवाने मात्र देलान् ।
लाखौ मुटु चिरेर
भित्र पत्र पत्रमा
खोज्दा पनि भेटिएको
छैन ह्रदय ।
त्यो कसैले चिर्न नसक्ने
कसैले देख्न नसक्ने
कसैले छेक्न नसक्ने
हुनुपर्छ ह्रदय ।
उनी भन्छन
मुटु फोर्नु एउटा
कर्म हो
पीडा निको पार्नु धर्म हो
यहि
असल कर्म र
मानवीय सेवाबाट
प्राप्त सन्तुष्टि धर्म हो ।
सायद त्यहि
निस्वार्थ सेवा भावको
गहिराईमा बस्ला ह्रदय ।
कोमल गीतामा
श्रीकृष्ले भने जस्तै
भगवान म होइन
म जोबाट निर्देशित छ
उनी पो हुन भगवान ।
साँच्चै मुटु जोबाट निर्देशित छ
त्यो चाहिँ हुनुपर्छ हृदय ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।