कवि र कविता : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
१. किसान खेतमा दौडी पसिना पोख्दछन् सधैँ
मजदूर गिटी ढुङ्गा फोड्नमा व्यस्त छन् सधैँ
यिनका दुःखका फाँकी टिपेर गीत गाउँन
एउटै मात्र खै आज, रचिन्नन् कविता किन ?
२. कति दर्द खपी बस्छन् नपाई औषधी मुलो
कति श्रम गरी भन्छन् बल्दैन घरको चुलो
यिनका दुःख टिपेर अगुवा बोल्दछन् कुन ?
भनेर प्रश्न यो बेला सोध्दैनन् कविले किन ?
३. मतदान गरी कुर्छन् जनता हुन्छ क्यै भनी
नेता चटक्क बिर्सेर पस्दैछन् बंगला मुनी
हेरेर दृश्य यो नित्य खोज्दैछन् जनता रुँन
अव्यवस्था बढ्यो भन्दै लेखिन्नन् कविता किन ?
४. दफा कानुनका मिच्दै लुट्दै देश सपार्छु म
जेल नेल कुनै हुन्न मान्छे मार निकाल्छु म
भन्ने छन् तिनकै ऐले गुनगान छ झन्झन
यस्तो हुन्न भनी बोल्न, सक्दैनन् कविले किन ?
५. शब्दले भाव बोक्दैनन् भावले छुन्न चित्तमा
यौटै श्लोक त्यहाँ छैन जागरण निमित्तमा
अन्तर्य चाहना हुन्छन् पुरस्कार लिने अरू
कविजी किन रच्दैनौ हनुमान गीता बरू ?
६. भए सम्पत्तिको इच्छा नेता हुँ म भने भयो
दास बन्ने भए इच्छा कार्यकर्ता बने भयो
नरोजी बिग्रने बाटो बाँच्न सक्दैन सज्जन
कविजी भन यो बेला के भर्छौ शब्दमा धुन ?
७. कुरा गर्नेहरू माथि काम गर्नेहरू तल
बलिया अगुवा जस्ता नसक्ने सब कम्सल
बोल्छ विषमता चर्को सुध्रने छैन लक्षण
कन भाव समेटेर लेख्दैछौ कविता भन ?
८. तमसुक गरी कीर्ते खाने खानै छ व्यस्त झन्
पढेर देश छोडेर जाने जानै छ व्यस्त झन्
भोकको भुमरी उस्तै प्यूँनै छ दुःख घट्घट
दुरावस्था सबै फाल्ने बरू क्यै कविता रच ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।