नेपाल यो सुन्दर देश मेरो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
अग्ला हिमाली चुचुरा सजाई
चौडा उज्याला पहरा उठाई
देखिन्छ हाँस्दै घरको कटेरो
नेपाल यो सुन्दर देश मेरो ।।१।।
यो वास हो आदिम सभ्यताको
यो खास हो आश्रय दिव्यताको
देखिन्छ धारा र कुवा पँधेरो
नेपाल यो सुन्दर देश मेरो ।।२।।
खोला र नाला दह ताल फाँट
पाखापखेरा मनका विराट
खुल्दैछ बाटोतिर के अँधेरो ?
नेपाल यो सुन्दर देश मेरो ।।३।।
छन् खर्कमा याक घुमी रहेका
यात्री सयौँ शैल चुमी रहेका
को भन्छ सानो छ निधार तेरो ?
नेपाल यो सुन्दर देश मेरो ।।४।।
भर्दैछ माटो सब अन्नपात
छर्दैछ पानी धनधान्य खात
बुट्टा भरेको हरियो छ फेरो
नेपाल यो सुन्दर देश मेरो ।।५।।
हेरौँ तराई तल रम्य फाँट
सेतै फुलेको छ चुली ललाट
छन् शीत थोपा नवनीत घेरो
नेपाल यो सुन्दर देश मेरो ।।६।।
मिल्दै बसेका घर गाउँ राम्रा
हुन् दिव्य कस्ता सब ठाउँ राम्रा
मेची र काली दिलमै छ सेरो
नेपाल यो सुन्दर देश मेरो ।।७।।
स्वतन्त्रताको शुभ श्रृङ्खला यो
हो भक्तिको शक्ति कलाथला यो
पोतौँ लगाऊँ सुकिलो कमेरो
नेपाल यो सुन्दर देश मेरो ।।८।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक