बुढानिलकण्ठमा बनेको रिसोर्टको अनुमति नपाए सांसद दीपक खड्का अनसन बस्ने
बुढानिलकण्ठ नगरपालिकामा निर्माण सम्पन्न हुन लागेको रिसोर्टको अनुमति नपाएको भन्दै नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् ।
बुढानिलकण्ठ नगरपालिकामा होलि डे इन कम्पनीले संचालन गर्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै मन्त्रालयमा संचारकर्मी सहित पुगेका उनले अनसन बस्ने घोषणा गरेका हुन् ।
रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको र आफ्नो काम अझै पनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले बताए ।
उनले भने, ‘चार वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’
रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै होटलको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताउदै उनले काम नहुने भए सबै फाइल च्यात्न तयार रहेको र काम नभएमा अनसन बसेर सरकारलाई दबाब दिने बताए ।