भूतको बरियात : ‘अग्नि कवच’ (लघुकथा)

भूतको बरियात : ‘अग्नि कवच’ (लघुकथा)
कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६।

आउँछ रे ! आउँछ रे ! चारैतिर हल्ला मच्चिएको सुनेर मशाने माइलोले पनि मयलपोस सिलायो । पूरानो कोट र ढाका टोपीमा आइरन लगायो । सुरुवाल टक्टक्याएर पहिरियो । हुक्के धुपौरेहरूले पाउपोश पनि पहि¥याएर बेहुलो बनाइदिए । दुर्गेशले चारैतिर ढोल पिटेको थियो । बरियातलाई घरघरमा गाडी आउँछ तयार भएर बस्नु भनेर निम्तो दिइएको थियो । शहरका होटलहरू जन्तीका लागि बुक गरिएका थिए । जन्तीहरू चारैतिरबाट ओइरिए । बेहुलाको घरमा नपुगिकन होटल तिर लागे ।

मशाने माइलोको आँगनमा बालगोपाल लगायतका युवा र प्रौढहरू उपस्थित भैसकेका थिए । दुर्गेश पनि ठाटबाटका साथ हाजिर भयो । आँगन भरी मुख्यजन्तीहरूको भीड तैनाथ भएपछि मशाने माइलो बेहुलो बनेर बग्गीमा चढ्यो । सबैजना बग्गी पछि पछि दौडिए । विवाह नागार्जुन बैङ्केटमा गर्ने तय भएको थियो । निर्धारित समयभित्रै बरियात पुग्यो । दुर्गेश बेहुली पक्षकालाई स्वयम्वरका लागि छिटो गर भनेर घोक्रो फुलाउँदै थियो । बेहुली पनि तयार भएर आइपुगिन् । स्वयम्वरको कलश लिएर बेहुलोलाई परिक्रमा गरिन् । केशर पंडित विधि अनुसारको कर्म गराइरहेका थिए । अचानक हल्ला मच्चियो । सबैको ध्यान स्वयम्वर स्थलमा केन्द्रित थियो । लोकन्तीहरू खित्का छोडेर हाँस्दै थिए । कोही निराश देखिन्थे । कोही लाजले पानीपानी भएझैं देखिन्थे । कोही के भो ? के भो ?भनेर चिच्याउँदै थिए । त्यही बेला भिडबाट एउटा बालकले चिच्याएको आवाज सुनियो । ऊ बेहुलाको सुरुवाल देखाएर भन्दै थियो जाँघ त उध्रिसकेछ । मशाने माइलो लाजले भुतुक्क भयो । उसको भूतनाथ बन्ने सपना चकनाचुर भयो । दुर्गेश मुख छोपेर कुना पसेको अझै बाहिर निस्कन सकेको छैन ।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।