नयाँ जुत्ता : जीवन आचार्य ‘निश्चल’ (कविता )

नयाँ जुत्ता : जीवन आचार्य ‘निश्चल’  (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
खुट्टा खान नपाएर आन्दोलित
अनेक जुत्तामध्य केही खुट्टाखाने ठाउँमा पुगे–
जुत्ताहरूकै ढाडमा टेकेर
र, बने– नयाँ जमानाका नयाँ जुत्ता
अग्लो सम्झनथाले आफूलाई
होचा, ख्याउटे, कमिला–भुसुना देख्न थाले मान्छेहरूलाई
र, कानुनलाई सेकुवा सेकेझैँ चपाउने
मान्छेकै बुद्धि सिको गर्न अभ्यस्तभए
कमिला र भुसुनाले हात्ती रुवाएको बिर्सेर
कमिला र भुसुनासँगै मितेरी गाँसेझैँ हात्तीले
टिकाउँदै शरीरको कृत्रिम रङ
कर्के नजर लगाइरहे गोल्डस्टारहरूलाई
हाम्रो आफ्नै जात छ भनिरहे
र, मिसिइरहे विरोधी जातमा
इतिहास र इज्जतमा गर्व गरिरहे
र, चोबलिइरहे आफूलाई नालीमा
आफ्नै शिकारीको पाउपुज्न
भोक, रोग र अनेक सपनाको तस्वीर कुल्चँदै
लम्कँदै रहे—
फूलैफूलको बाटोहुँदै
बिर्सेर आफ्नो मूल
भत्काउँदै जुत्ताहरूको साझा सपना
आफ्नो र आफ्नाहरूको भविष्य सपार्ने सूत्र फलाक्न
कुर्सीमा बसेको दृष्टिविहीन धृतराष्ट्रझैँ
बसिरहे दृष्टिविहीन बनेर
गजक्क परे
ओढेको बाघको खोल झुन्ड्याउँदै
दौरा, सुरुवाल, कोट र कुर्सीछेउमा
मस्तसँग खाए र डकारे भ्रमित सपना
बिर्सिए भुसुक्क–
हरेक जुत्ताको विगत, वर्तमान भविष्यको इतिहास
स्मृतिको बन्द एल्बम पल्टाउँदा भेटिनेछ कुनै दिन ।
भेटिनेछ–
उज्यालो मन नपराउनेहरू
र, उज्यालोका लागि लड्नेहरूको रङबीचमा फरक !
जब स्वयम् इतिहास हुनेछन् एक दिन
कसै न कसैले पल्टाउने छ कुनै दिन–
नयाँ, पुरानो जुत्ताको खाता ।
कोट्याई–कोट्याई खोज्नेछ—
पुराना जुत्ताको इतिहास मेट्न आतुर
नयाँजुत्ताको रङ ।
त्यसबखत
इतिहासको रङ
नयाँ जुत्ताले सोचेजस्तो
चम्किलो कदापि हुनेछैन ।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।