के हाँस्नु हो खित्खित ? त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ , साउन ६।
।१।
हो–हल्ला नगरौँ सभातिर भन्यो, हल्ला त्यहीँ चल्दछ
यो भन्दै नभनौँ कतै पनि भन्यो, डल्लै उता पुग्दछ
राखी गोप्य रहन्छ के ? बरु खुली हाँसौँ पु¥याऊँ धित
हा ! हा ! मै छ मजा, हिँ ! हीँ ! हिँ ! हिँ ! गरी, के हाँस्नु हो खित्खित ?
।२।
सेता दन्त चिटिक्क चट्ट जसरी, हाँस्छन् हिमाली चुली
गम्की बस्नु भिरी ठुली तिलहरी, के काम नाकेफुली ?
ठूलै गर्नु कुरो नि ! गन्गन गरी, होला र कैले जित ?
हा ! हा ! मै छ मजा, हिँ ! हीँ ! हिँ ! हिँ ! गरी, के हाँस्नु हो खित्खित ?
।३।
सक्नेले भनिदिन्छ झट्ट पर जा लाटो छ मेरो रिस
बक्नेले सय बक्छ त्यो घिरि–घिरी के तीस के पैँतिस ?
खुद्रा होइन चल्छ थोक, गतिलो हाँसो नहोस् बञ्चित
हा ! हा ! मै छ मजा, हिँ ! हीँ ! हिँ ! हिँ ! गरी, के हाँस्नु हो खित्खित ?
।४।
खानेले त चपाउँदै लसुनझैँ खाए पचाए सुन
पिँध्नेले भटमास माससँगमा पिँध्दै सकाए घुन
लुक्नेको दिन हैन यो, किन लुकौँ ? भित्रै अँध्यारोसित
हा ! हा ! मै छ मजा, हिँ ! हीँ ! हिँ ! हिँ ! गरी, के हाँस्नु हो खित्खित ?
।५।
के को मिल्छ गरी हि ! ही ! हु ! हु ! यहाँ, संगीत आनन्दको
दाँतै खोल्न मजा, दवाइ रहँदा झङ्कार के बन्दको ?
हे ! है ! हो ! हः छँदैछ उफ्रिनु परे, के दब्दछौ ए मित ?
हा ! हा ! मै छ मजा, हिँ ! हीँ ! हिँ ! हिँ ! गरी, के हाँस्नु हो खित्खित ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक