प्रेम : तिलक पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ , साउन ६।
गुलाफसँग
प्रेम गरेँ मैंले
उसले प्रेम फिर्ता नगरे पनि
अहँ उसले मलाई चित्त दुखाएन
अपरिचित मौसमसँग
नाता गाँसे मैले
उसले प्रत्युत्तरमा मौन रहे पनि
अहँ यो मनलाई दुःख दिएन
बटुवालाई मुस्कान दिएँ सित्तैमा
के खांचो थियो र दिन तर
उसले पनि सित्तैको मुस्कान फिर्ता दियो
उसले पनि खांचो कांचोको हिसाब गरेन
यस्तै यस्ता
जिन्दगीका अपरिचीत विम्बहरूसंग
साइनो गांस्दै गएं
गांठो बलियो हुन नसके पनि
टुटेको सम्बन्धसंग
इतिहासको धब्बा बसेन क्यार
तर किन
आफ्नै मनसँग कुरा गर्दा
अपेक्षाको हुरीले झट्का दियो
यस्तो झट्का दियो
मनसंगै मन हराए जस्तो लाग्छ
आफ्नै पनसँग कुरा गरेँ
अभावको बञ्चराले मुटु चिर्यो
यतिसम्म टुक्रिएं कि
टुक्रि नु नै जिन्दगी हो भन्ने लाग्छ
अतीतसँग कुरा गरेँ
चोटहरु देखाएर गयो
हेर्दा हेर्दै त्यहां सुन्दरताको
कालो पर्दा देखें
आहा कति भव्य, कति लौकिक‘
वर्तमानसँग कुरा गरेँ
सपनाले पोलेको दाग
अनि
असफलको मैदानमा लडेका भाग भन्दै
परिचय दिएर गयो
थर र गोत्र बिनाको परिचयमा
आफ्नो वंश नभएको पनि
कुनै दुख लागेन मलाई
हिंडेको बाटोले धोका नदिए पनि
धोका दिनेहरू हिंड्ने बाटोमा आइपुग्छन्
यस्तो बाटोको के दोष‘‘
र पनि
भविष्यसँग म के कुरा गरुँ
उसलाई मात्र प्रेम गर्न सक्छु
सम्झीन सक्छु
भुल्न सक्छु उसंग
जस्तै प्रसुति महिलाले
गर्भको पेटसंग गर्छे
मालिले विरूवासंग गर्छ
माझीले समुद्रसंग गर्छ
व्याधाले आकाशसंग गर्छ
तर म ति मध्ये कोही पनि हैन र
आश पनि छैन
उसले पनि मलाई प्रेम गरोस्
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक