बौद्ध तीनचुलीमा ७ औं उपत्यका ब्यापी सितोरियो कराते प्रतियोगिता शुरु
कपन अनलाइन
काठमाडौं असार १५ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलाडी भन्ने मूल नाराको साथमा काठमाडौं महानगरपालिका वडा नं ६मा ७ औं उपत्यका ब्यापी सितोरियो कराते प्रतियोगिता शुरु भएको छ ।
नेपाल सितोरियो कराते डोजो प्रथम शाखा डोजो बौद्धको आयोजना तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा आज र भोलि (असार १५ र १६ गते) गरि दुइ दिन सम्म तीनचुले स्थित बौद्ध गार्डेन प्यालेसमा चल्ने उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन ।
नेपाल कराते महासंघका उपाध्यक्ष देव लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्ती माया तामाङ, सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा, जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, नेपाल कराते महासंघकाठमाडौं जिल्ला अध्यक्ष ज्ञान बहादुर जिम्बा, सितेरियो कराते संघका उपाध्यक्ष तथा १३ औं एसियाली गेम्स तयारी समितिका सदस्य मजिन्द्र सिंह, ओम तामाङ सुख दुख गुठिका अध्यक्ष सुरज रुम्बा समाजसेवी लक्ष्मी श्रेष्ठ, लगायत आयोजक संस्थाका पदाधिकारी,रेफ्रीहरु सहित खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
करिब ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता उद्घाटन सत्रमा सभापति समेत रहेका नेपाल कराते महासंघका उपाध्यक्ष देव लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै श्री बौद्ध नाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङले आत्मरक्षाको लागि पनि कराते खेल आवश्यक रहेको बताउदै उक्त खेलले आत्म-अनुशासन सिकाउन र मानसिक बल विकास गर्न सहयोग पुग्ने धारणा राखेकी थिइन। उनले यस्ता प्रतियोगिताले बौद्धनाथ क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा थप टेवा पुर्याउनुको साथै खेलाडीहरुको प्रतिभा प्रष्फुटन समेत हुने हुदा क्षेत्र विकास समितिले सहयोग गरेको बताउदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेकी थिइन ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले खेलको बिकासले आम नागरिकलाई अनुशासित बनाउन सकिने शिक्षा, स्वास्थ्य र खेलकुद मानव जीवनको अपरिहार्य भैसकेको धारणा राखेका थिए ।
उनले स्वास्थ्य र मनोरञ्जनका लागि खेल महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा वडाले खेलकुदका कार्यक्रमलाइ प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले करातेको विस्तार गर्न बौद्धमा अग्रजहरुले गरेको संघर्ष स्मरण गर्दै करातेलाइ आजको स्थान सम्म ल्याउन सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए ।
उनले अफवाहको पछि नलाग्न अनुरोध गर्दै नेपाल सितोरियो कराते डोजो प्रथम शाखा डोजो बौद्धको भवन नभत्किने बताएका थिए । उनले प्रतियोगिताको लागि आर्थिक सहयोग गरेकोमा श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई धन्यवाद समेत दिदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।






