सानी नानीको प्रेरणा : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
म सधै जस्तो बिहान ५.३० मा आफ्नै घरमा रहेको पसलमा दूध तरकारी लिन जाने गर्थें । आज आइतबार भने अरु दिनभन्दा अलिकति ढिला अफिस पुग्नुपर्ने हुदाँ करिब ७ बजे मात्रै पसल पुगेकी थिएँ । त्यतिबेला करीब ८० वर्षको हजुरबुवा र करिब ५ बर्षकी नातीनीको किनमेल चलिरहेको थियो । मलाई त्यत्ति हतार थिएन, आफ्नो पालो कुरिरहेको थिएँ । नातिनी निकै बाठी, राम्री र चन्चले स्वभावकी थिइन् । म उसलाई हेरिरहेको थिएँ । बा पाउरोटी किनिदिनु सानी नानी हजुरबुवासँग आग्रह गरिरहेकी थिन । बाले पाउरोटी किनिदिनु भो अनि फेरि चक्लेट भनिन त्यो पनि किनिदिनु
भयो । अब भयो घर हिड भन्दा उसले फेरि बा ‘बिस्कुट किनिदिनु भनिन्’, बाले त्यो पनि किनिदिनु भयो । आफूले भनेको कुरा पाएपछि फुरुक्क हुँदै नानि बोलिन् ‘ल अब घर जाम’, ‘हुन्छ ल हिड, बाले भन्नुभयो र साहुनीसँग कति पैसा भयो सोध्नुभयो र बिस्तारै एउटा खैनी माग्नुभयो सायद बा नातिनीसँग डराउनु हुन्थ्यो । नातिनी बाठी उसले सुनिहाली । साहुनीलाई हेर्दै आन्टी बालाई खैनी नदिनु । मलाई त्यो देखेर अचम्म लाग्यो अनि फुच्चिलाई सोधें किन नदिनु बालाई खैनी ? आफू चाहीँ हातभरी चकलेट बिस्कुट पाउरोटी लिने अनि बालाई नदिने ?
बा त बुढो हुनुहुन्छ, अनि बिरामी हुनुहुन्छ नि ! जिज्ञासायुक्त आँखाले म तिर हेर्दै बोली खैनी खानुहुन्छ त ? अनि फेरि भनि सुन्नु न आन्टी डाक्टरले बालाई त्यस्तो कुरा नखानु भन्नु भएको छ, हाम्रो बा त थाहा छ, चुरोट पनि खानुहुन्छ । छिः मलाई त कस्तो गनाउछ । अनि थाहा छ रक्सि पनि खानुहुन्छ । ल अहिले पनि मुख सुँघ्नु त रक्सि गनाइरहेको छ । बाबाले मामुले भनेको नि मान्नु हुँदैन । म अकमक्क भएँ र भनें ‘आफु भन्दा ठुलो मान्छेलाई त्यस्तो भन्नुहँुदैन ।’ छेउमा सुनिरहेकी साहुनी आफु पनि नेवार समुदायको र बा पनि नेवार समुदायको हुनुहुन्छ भनेर मलाई जानकारी दिइरहेकी थिईन् । ति सानी नानीको कुराले हामी हाँसीरहेका थियौ ऊ झन् स्वर मिलाई मिलाई हजुरबुबाको दैनिकी बताईरहेकी थिई । ‘जातले पाएको नि नखानु त’ साहुनी बोलिन् ह्या यो नानु त बुढो भएको बालाई नि के के भन्छिन के के, बालाई लिएर घर जाऊ ।’ नानु फेरि बोली ‘यत्ति ठूलो भइसक्नु भयो, अहिलेसम्म पनि ‘खैनी चुरोट रक्सि खान हुन्न भनेर थाहा छैन के हाम्रो बालाई ।’ ‘हिड्नु घर, सबै कुरा बाबालाइ भन्दिन्छु अनि बाबाले गाली गर्नुहुन्छ अनि ठिक्क पर्छ’ भन्दै दुईजना एक अर्काको हात समाउदै घरतिर लाग्नुभयो । साहुनी र म एकछिन कुरा ग¥यौं, के बिधि बाठा भएका होलान् है अहिलेका केटाकेटी जन्मिदै तिनपात भनेको यहि होला भन्दै म पनि आफ्नो सामान बोकेर घरतिर लागें ।
मलाई भने दिनभरी नै ति सानी नानीको कुराले झकझकाई रह्यो ‘यत्ति ठूलो भइसक्नु भयो, अहिलेसम्म पनि, खैनी चुरोट रक्सि खान हुन्न भनेर थाहा छैन के हाम्रो बालाई ।’ उसले कति मिठो सन्देश छोडेर गई, वास्तवमा भन्ने हो भने हामी हाम्रा भाइबहिनी, छोरा छोरी र आफूभन्दा सानालाई अर्ती बुद्धि दिएर सम्झाईरहन्छौ उनीहरुले आफुले भनेको जस्तो नमान्दा चित्त दुखाउछौ । तर हामीले गरेका कत्ति कुराहरु पनि सहि हुँदैनन्, हाम्रा अभिभावकले सम्झाएको कुरा हामीले मनन पनि गर्दैनांै । उँहाहरुले भनेको कुरा सहि हो भनेर हामी धन्यवादसम्म दिँदैनौ तर अरुलाई यसो नगर उसो नगर भनेर भन्न कहिल्यै छोड्दैनांै र जसले सम्झाईरहनु हुन्छ उहाँहरुले पनि आफुले गरेका गल्ति सच्याउनतिर कहिल्यै लाग्नुहुन्न । उल्टै ठूलो मान्छेलाई यस्तो भन्ने हो भनेर गाली गर्नुहुन्छ । आज एउटी सानी नानीले प्रेरणा स्वरूप जुन कुरा बताईन् ‘यत्ती ठूलो भइसक्नु भयो–––’ आफुले कुनै गल्ती गरियो या गर्न खोजियो भने अरुलाई सम्झाउनु भन्दा पहिले आफुलाई एक पटक सच्याउदै जान्छु र यहि सन्देश सबैलाई दिन चाहन्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।