कथा जलेश्वर नाथको : शीतल गिरी (लेख)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
प्राचीन मिथीला अन्तर्गत पूर्वमा कोशी नदी, पश्चिममा गण्डकी, उत्तरमा हिमाल र दक्षिणमा गंगा नदीरहेको मध्य भू–भाग पर्दथ्यो । १२ हजार ५ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पावन भूमि मिथिलाको जनकपुर जनकवंशी राजाहरूको राजधानी थियो । ऐतिहासिक राजधानी जनकपुरको पूर्वमा कपिलेश्वरनाथ, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ र दक्षिणमा कल्यापेश्वरनाथ रहेका छन् । जनकपुरबाट १६ किलोमिटर पश्चिममा पर्ने महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शिवमन्दिर उत्पत्ति हुनुभन्दा पहिला घना जंगल रहेको थियो । क्रमशः जंगल फँडानीगर्दा पानीभित्र भगवान शिवजी विराजमान रहेको पाइएकोले त्यस क्षेत्रलाई जलेश्वर भनिएको तर्फ जनविश्वास रहेको पाइएको छ । किंवदन्ती अनुसार परापूर्वकालमा नेपाल भारतको सीमा मटिहानी मठका बाबाले हरेक मंगलवार तीन योगीलाई त्यहाँ देखेर तिमीहरू यसलोकमा नाम, यश कमाई परलोकको मोक्षसमेत प्राप्त गर्न चाहन्छौं, भने अलग अलग स्थानमा पुगेर पापी र कुटील व्यक्तिहरूको उद्धार र उपकारमा संलग्न होउ भनेछन् ।
तीन योगीमध्येका एक योगी जगदीशनाथले जलेश्वरनाथ मन्दिर भएको ठाउँमा वरको रुखबाट पातहरू झरेर भुइंमा खस्दा जलेर खरानी हुने गरेको देखे । यसबाट अचम्भित भएका उनले आफ्ना इष्टदेव शिवजीलाई ध्यान र पूजन गरेकै रात सपनामा शिवजीले भनेछन्— “तिमी जहाँ बसेका छौं, त्यसको वरपर मेरो गुफा र लिङ्ग माटोले पुरिएको छ, तिमीले जनतामाझ प्रकट गर ।” शिवजीको आदेश पालन गर्न वृद्ध जगदीशनाथ असमर्थ थिए र अरूद्वारा खनाउन उनीसंग धन पनि थिएन । शिवजीको आदेशानुसार बसेको ठाउँबाट तीन माइल उत्तर गए, त्यहाँ एउटा गढ थियो र उनले हात छिराउदा ‘सुनको चर्खा’ प्राप्त गरे ।
अनि जगदिश योगीले सो चर्खा विक्रीगरी प्राप्त गरेको धनले खन्न लगाउँदा पत्थरको गुफा, शिवलिङ्ग, नन्दी, विष्णु, सूर्यनारायण, भैरव तथा कुमार कार्तिकेयका प्रतिमाहरू भेटे, जहाँ भगवान शिवको लिङ्ग भूमिगतरूपमा पानीमा रहेको थियो । त्यसै दिनदेखि जगदिशनाथले जलेश्वर महादेवको पूजाआजा गर्दै आएका थिए । वि.सं.२०३२ सालमा निर्माण गरिएको पार्वती मन्दिरको पश्चिमतिर जलेश्वर महादेव उत्खनन् गर्दा भेटिएका नन्दीलाई र भैरव, विष्णु र कुमारलाई घण्टा स्तम्भको दक्षिणतर्फ स्थापना गरिएको छ । कीर्तन भवनको पूर्वतर्फ रहेको लक्ष्मीनारायणको मन्दिरलाई दशैको नवरात्रिमा भब्यताका साथ सजाइन्छ ।
जलेश्वर मन्दिर उत्पत्तिमा उल्लेखित किम्वदन्ती मन्दिर परिसरमा नै रहनु, सुनको चर्खा योगीले ल्याएको ठाउँ सुन उखाड गढ मटियानी र जगदीश वावाको मठ जलेश्वर क्षेत्र र यसको वरीपरी अद्यापि रहनुबाट पनि जलेश्वर महादेवको सीमा र उत्पत्ति सत्यको नजिक पाइन्छ । साउन महिनाको प्रत्येक सोमवार, महाशिवरात्री र नवरात्रिमा यस मन्दिरमा अन्य दिनभन्दा बढी भीड भाडका साथ मेला लाग्ने गर्दछ । भारत र नेपालका धेरै दर्शनार्थीहरू शिवको दर्शनगर्न घटस्थापनाका दिनदेखि नवरात्रिसम्म आएबाट जलेश्वर महादेवप्रती श्रद्धा, विश्वास र स्नेह रहेको अनुभव हुन्छ । जलेश्वर महादेवको शिवलिङ्गलाई श्रद्धालु भक्तजनहरू भगवान विष्णुलाई झै पातालगंगाले जलाशय गराएको विश्वास गर्छन् । शिवलिङ्ग वरिपरिको पानी अहिलेसम्म सुकेको थाहा छैन । प्रारम्भमा जलेश्वर मन्दिरको संचालन जगदीशनाथ गिरीको सन्तानले गरि आएकोमा हाल पाठक थरका पुजारी नियुक्त छन् । जलेश्वर मन्दिरको व्यवस्थापनका लागि वि.सं.१८६९ मा श्री ५ गीर्वाणयुद्धविक्रम शाहले २ सय ७५ विगाहा जमिन राखिदिएकोमा राणा प्रधान मन्त्री श्री ३ पद्यशमशेरले आफ्ना पुरोहित र आफ्ना पछि लाग्नेहरूका लागि उक्त जग्गा वितरण गरिदिएपछि यो मन्दिरमा गुठी संस्थानको सामान्य रकमबाट पूजाआजा, धर्मशालाको व्यवस्था र साधु–सन्तहरूलाई भोजनको व्यवस्था भइरहेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।