एक मौका : पवित्रा अग्रवाल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
‘के हो कल्पना आज त निकै खुसी छौ, छोरीको केही खबर आयो कि के हो ?’ ‘हो आमा उसले तिरुपति मन्दिरमा गएर बिहे गरिछे । तपाईंले मलाई पुलिसमा रिपोर्ट लेखाउन दिनुभएन, त्यो त राम्रै भएछ ।’ ‘आमा मेरो त कर्म नै फुटेछ । बीस वर्षकी मेरी छोरी एउटा केटासँग भागिछे ।’ भन्दै हाम्री भान्से कल्पना दस दिन अघि रुँदै आएको मलाई याद थियो । ‘जोसँग गएकी छे त्यस केटालाई तिमी जान्दछ्यौ ?’ भनेर मैले सोधेँ । ‘अँ चिनेकी त थिएँ ।’ ‘अनि छोरीले त्यसलाई मन पराउँछे भन्ने तिमीलाई थाहा थिएन र ?’ ‘थाहा थियो । एक पटक उसलाई माग्न अर्कै केटाका मान्छे आएका थिए । उनीहरू गएपछि छोरीले भनी— ‘आमा मेरा लागि केटो नखोज । म रामलुसँगै बिहे गर्छु ।’
तर म त्यसो गर्न तयार थिइनँ ।’
‘किन ?’ ‘आमा, हामी मराठी हौँ । त्यो रामलुहरू तेलगु हुन.. हामीकहाँ यसरी बिहेबारी चल्दैन । कुलघरानले हामीलाई लखेट्छन् । त्यही भएर होला उसले मसँग कुरा नगरी त्यो केटासँग भागेर गई । अहिले मलाई आफन्तहरू बाउबिनाकी छोरीलाई राम्रो हेरचाह गरिन र बिग्रिएकी रहिछे भनेर कुरा काट्तै छन् । रामलुले मेरी छोरी लिएर भाग्यो भन्ने रिपोर्ट पुलिसमा लेखाऊ भनेर सबैले मलाई कचकच गरिरहेका छन् । आमा अब म के गरूँ ? तपाईं नै भन्नुहोस् । पुलिसमा रिपोर्ट लेखाऊँ कि ?’ मैले उसलाई— ‘दुवै बालिग हुन् । जति बदनाम हुनुथियो भइ सक्यो । नजानु गई नै सकी । त्यसैले अब एक मौका देऊ भनेर सम्झाएँ ।’ उसले भनी— ‘आमा तपाईं के सोच्न लाग्नुभयो ? मलाई त रामलुसँग ऊ खुसी नै रहन्छे जस्तो लाग्छ । रामलु इडली, डोसा र चियाको ठेला पसल राख्छ । उसको काम पनि ठिक छ र मेरी छोरी पनि मेडिकल सपमा काम गर्छे… । आफन्तका भनाइमा लागेर पुलिस रिपोर्ट गर्दा त दुवैको जिन्दगी खÞराब हुने रहेछ । थैंक यू आमा ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
(अनुवादः मञ्जुश्री प्रधान के.सी. ”रानु“)
तपाइँको प्रतिक्रिया ।