सजाय : लीलाराज दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
वनमा बसोबास गर्ने सकल प्रजातिका वन्य जन्तुहरुले सिंहको अध्यक्षतामा भव्य भेला आयोजना गरे ।
समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासा र समस्या खुलस्तसँग राख्न आव्हान ग¥यो ।
एउटी बाख्रीले भनी, ‘हुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ । उ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परेँ । क्षतिपूर्ति सहितको न्याय चाहियो !’
लगत्तै एउटा स्यालले भन्यो, ‘मेरै जातिको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ !’
यत्तिकैमा हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो, “ उ त्यो छट्टुले मेरो छोरालाई बैदेशिक रोजगारीमा पठाई दिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो ! “
यसैगरी अन्यले पनि हत्या, आतङ्क, चोरी तस्करी, वातावरण प्रदुषण लगायतका समस्याहरुको उठान गरे !
सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।
सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए सबै ।
अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो, ‘तिमीहरुले अपराध बमोजिमको सजाय त पाउँछौ नै ! त्यो भन्दा ठूलो कुरा त, मानिसहरुको बानी, व्यहोराको सिको गरेकोमा पहिला तिमीहरुलाई दण्ड दिने घोषणा गर्दछु !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।