विगत … शून्यता … सुङ्रकोट : शीतल गिरी (यात्रा संस्मरण)

विगत … शून्यता … सुङ्रकोट : शीतल गिरी (यात्रा संस्मरण)

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

सुदुरपश्चिमाञ्चल बैतडि जिल्लाको सुरम्य बस्ती सुनार्यागाडको तटवर्ती दक्षिणतिरको स्थानमा अत्यन्त सुन्दर सुङ्रकोट राज्य थियो उहिल्यै । योगी नरहरिनाथको कथनानुसार पश्चिमतिरका वाइसी राज्यको नेतृत्व डोटी राज्यले गरेको हुँदा सुङ्रकोट राज्य डोटी राज्य अन्तर्गत एउटा सानो उपराज्यको रूपमा स्थापना भएको कुरा स्वीकारिन्छ । डोटी राज्यमा शासन गर्ने डोटेली राजा निरयपालले आफ्नो पश्चिमी सीमा महाकाली नदीसम्म विस्तारित गरेको हुँदा यस क्षेत्रअन्तर्गतका स–साना बोट्टे राजा रजौटाहरू डोटी राज्यकै मातहतमा रहेको कुरा ज्ञात गर्न सकिन्छ । ज्ञात गर्नु नै पूर्णता भए अज्ञात अपूर्णताको दैलो पनि त हुन सक्छ । भग्नावशेषकै रूपमा भए पनि प्राप्त कोट विगत समय र घटनाको सम्बन्धमा बुझ्न सकिने तथ्य हो । मानिसहरू भग्नावशेषको अवलोकन र लोकगाथाको परिधिभित्र स्वतन्त्र भएर सोधिरहन्छन्, आजको समय विगतवारे सोध खोज गर्ने नै हो— भग्नावशेष अवलोकनको वातावरण, शान्त अपनत्वको वातावरणमा अनुसन्धान कर्ताले लोकगाथा केलाएर सत्यको नजिक पुग्न सक्छ भन्ने स्पष्ट हुन्छ । यसरी खोज्नु पर्ने कुरा धेरै बाँकी छ । म आफ्नो मनको बह यसरी पोखेर शान्ति प्राप्त गर्छु, यसकारण शून्यतामा हराउँन तत्पर भई रहन्छु ।
बाइसी राज्यको नेतृत्व जुम्ला राज्यले गरेको परिप्रेक्ष्यमा डोटी राज्यको सीमा पश्चिमका कुमाउँ र गढवालसम्म समेत फैलिएको थियो । जुम्ला राज्य कमजोर परिवेशमा त्यसअन्तर्गतका सम्पूर्ण बाइसी राज्यको नेतृत्व डोटी राज्यले नै गरेको कुरालाई इतिहासकारहरूले स्वीकारेका छन् । कर्णाली प्रदेशमा तत्कालीन सिञ्जाली राज्य निकै बलियो रहेको कुरालाई पनि इतिहासकारहरूले उल्लेख गरेका छन् । कर्णाली वारि सेती–महाकालीमा भने डोटी राज्यले नै आफ्नो आधिपत्य जमाएको थियो र कुमाउँ राज्य र डोटी राज्यबीच कयौंपटक युद्ध भएको र सो युद्धमा डोटी राज्यले नै विजय पताका फहराएकोले डोटी राज्यले गढवालसम्म समेत आफ्नो पश्चिमी सीमाना कायम गरेको कुरालाई पनि इतिहासकारले उल्लेख गरेको पाइन्छ । डोटी राज्य, सुङ्रकोट राज्य, जुम्ला राज्य एकै प्रकारले समकालीन थिए, डोटी राज्यको जस्तो विशालता सुङ्रकोटमा पाइन्न अनि जुम्लाको वीरताले कोरेको इतिहास पनि यो सानो राज्यमा देखिन्न । सुङरकोटको विगत झै नेपाल अधिराज्यमा कतिपय स–साना राज्यहरूको कथा व्यथा छटपटाई रहेको महसुस गरेता पनि मलाई सुङ्रकोटको शून्यताको तथ्य जान्न छट्पटी लागिरहेको छ । सुङ्रकोट राज्यको निर्माण किन ? यसलाई अन्य साना तात्कालीक राज्यभन्दा पृथक देखाउने कारण के हो ? अथवा यसको आफ्नै खास विशेषता थियो ? प्रमाणीत कसरी गर्ने— भग्नावशेषले त केही बोल्दैन । हो लोकगाथाको गहन अध्ययन अन्वेषण यस्तैको लागि हो ।
नेपालको एकीकरण गरिने सन्दर्भमा पश्चिमका वाइसी चौबीसे राज्यहरूका साथै कुमाउँ र गढवाल समेत नेपाल राज्य अन्तर्गत समाहित हुन पुगेको कुरा पनि इतिहासबाट सुस्पष्ट
हुनआउँछ । सुगौली सन्धि हुनुभन्दा अघि नेपालको पूर्वी सीमान टिष्टा नदी र पश्चिमी सीमाना सतलज नदीसम्म रहेको थियो । नेपालको एकीकरण हुनुभन्दा अघि पश्चिमी बाइसी राज्य र सो राज्य अन्तर्गतका उपराज्यहरू डोटी राज्यको मातहतमा रहेकोले डोटी राज्यकै परिधिको परिवेशमा पाटन सुङ्रकोट उपराज्य स्थापना भएको कुरा स्वीकारिन्छ । तथ्य भन्ने कुरा न ‘आत्मन’ हो न ‘अनात्मन’ । तथ्य ‘शून्य’ हो । तथ्यको आधारमा सत्यवाद या अस्तित्ववादद्वारा विगत कोट्याउछौं ।
डोटी राज्य अन्तर्गतको उपराज्यका रूपमा पाटन सुङ्रकोटमा तत्कालीन राजा उदयदेवले राज्य स्थापना गरी राज्य सञ्चालन गरेको कुरा जनमानसमा व्याप्त छ तापनि यसको प्रमाणित अभिलेख भने फेला परेको छैन । खासगरी सुङ्रकोटमा तत्कालीन राजा खिपचनले सुङ्रकोट उपराज्यको किल्ला निर्माण गरी राज्य सञ्चालन गरेको कुरा निकै व्यापक छ । पाटन सुङ्रकोट उपराज्यको किल्ला निर्माण गरी राज्य सञ्चालन गर्ने राजा खिपचन हुन् । कतिपय जनमानसमा व्याप्त श्रुति परम्पराकानुसार खिपचन उदयदेवकै सन्तान हुन् भन्ने कुराको उल्लेख रहे पनि यसको कुनै अभिलेख उपलब्ध नभएकोले यसको पुष्टि गर्न सकिंदैन । खिपचनले पाटन खर्गेनीपीपलको पूर्वोत्तरीय सानो पर्वतीयाकारको परिवेशमा आफ्नो दरबार निर्माण गरी मजबुत किल्ला बनाएका थिए ।
खिपचनले धेरै बर्षसम्म त्यहाँ शासन सञ्चालन गरेका थिए । भिरालो दमस्याइलो चट्टानजस्तो मजबुत बलियो दरबार सहितको किल्ला निर्माण गरे । यो किल्ला अझै पनि जीवन्तरूपमा ठडिएर रहेको छ । यस दरवारका शैलीमा निर्माण प्राचीन रूपमा मजबुत, आकर्षक र सुन्दर शैलीमा निर्मित छ । यस दरबारिया किल्लाका वरिपरी सुरक्षित घेराको पर्खाल निर्माण गरिएको छ ।
किल्लाको दरबारिया भवन चट्टान झैं मजवुत हुनुका साथै केही फराकिलो र अलि साँगुरो शिवलिङ्गाकारका रूपमा रहेको छ । यसका भित्री सतहमा अनेकौं कोठाहरू रहेका र ती कोठाहरूमा बैठककोठा, सभाकक्ष, न्यायकक्ष, भोजनालय, शयनकक्ष, विश्राम कक्षका साथै सैन्यकक्ष र सेनापति एवं राजाका सल्लाहकार, भारदार, आमात्य र राजकर्मचारीहरूका आवासहरू पनि दरवारिया किल्ला भित्रै तहमा अलग अलग रूपमा निर्मित छन् । शत्रुपक्षको आक्रमणको प्रत्याक्रमण गरी सुरक्षा प्रदान गर्ने अनेकौं मजबुत आक्रमण गर्ने अग्ला पर्खाल पनि बनाइएका देखिन्छन् । मजबुत दरबारको भित्रैबाट सुनार्यगाड नदीमा आवतजावत गर्न बनाइएको मार्गबाट राजा र राजपरीवार जलक्रिया स्नान गर्न नदीमा जाने आउने गर्थे । त्यस दरवारिया कोटको किल्ला बाहिरबाट आवतजावत गर्दा शत्रुपक्षको आक्रमणको भय हुने हुँदा उक्त किल्लाभित्रैबाट सबै क्रियाकलापहरू गर्ने व्यवस्था मिलाइएको थियो । एकदिन राजा खिपचन सुर्नायागाडको मनोहर तलाउमा पौडी खेल्दै स्नान गरिरहँदा उनको शरीरमा एउटा सुन्दर करीब पाच हात जति लामो केश बेरिएछ । यति सुनौलो लामो केश भएकी युवती को होली कति सुन्दरी होलिन् ? तिनलाई आफ्नी बनाई दरवार किल्लाभित्र सहचरीका रूपमा राखी रतिराग गर्न पाए हुन्थ्यो भन्ने चिन्ताले राजा निकै उद्विग्न हुन थाले ।
खिपचन राजाले आफ्ना सैनिकहरूलाई उक्त ‘लामो केश भएकी सुन्दरीको पत्ता लगाई तुरुन्तै म समक्ष उपस्थित गराऊ’ भन्ने आदेश दिए । सिपाहीहरूले खोज्दै गरेकी युवती कोट दरवारको पूर्वी इलाकाकी विवाहिता नारी क्षेत्रीय रहेछिन् । राज्याज्ञानुसार सिपाहीहरूले ती लामो केश भएकी युवतीलाई राजा खिपचन समक्ष उपस्थित गराएपछि तिनको परिचय खुल्न जाँदा ती युवती भण्डारीकी छोरी कठायतकी पत्नी विवाहिता नारी रहिछिन् । ती विवाहिता नारीको असहमती रहदा रहदै पनि सतित्व अपहरण तत्कालीन सुङ्रकोटका दुराचारी राजा खिपचनले गरेछन् । ती नारीले आफ्नो पवित्र पतिव्रता धर्म भ्रष्ट गरिएपछि आत्महत्या गरिन्, तब त्यहाँका जनताले थाहा पाएर अर्काकी नारी अपहरण गरी सतित्व भङ्ग गर्ने दुराचारी राजाको विरोध स्वराड पाटन क्षेत्रमा निकै व्यापक भयो । पाटन स्वराडका सम्पूर्ण जनताहरू राजतन्त्र समाप्त पारी गणतन्त्र स्थापना गर्न आन्दोलनमा सक्रिय रूपले सहभागी भए । अर्काकी नारी सुन्दरी र राम्री हुँदैमा राजाले अपहरण गर्ने हो भने आज एकको अपहरण ग¥यो भोलि अर्काको अपहरण गर्ला भन्ने आशंका गरी यस्ता दुराचारी अन्यायी राजाको दमन गर्नुपर्ने आवश्यकता यहाँका चौरठ्या (विष्ट, भण्डारी, कठायत, ऐरी) हरूले ठह¥याए । यी सबै मिलेर खिपचनको किल्ला दरबारमा आक्रमण गरी राजासहित राजपरिवारको हत्या गरियो । तत्कालीन बोट्टेराजा रजौटाहरू धेरै विवाह गर्ने भएका र ती भोग बिलासी राजा खिपचनकी एउटी रानी कामको सिलसिलामा बाहिर गएकी रहिछिन् । ती गर्भिणी अवस्थामा रहेकी रानीले राजपरिवारको हत्या भएको कुरा थाहा पाएकोले प्राण जोगाउन भाग्दा भाग्दै तल्लो स्वराड रोडीदेवल पुग्दा तिनबाट छोरा जन्मेको हुँदा त्यहाँका बासिन्दाहरूले तिनको संरक्षण सम्वर्धन  गरेछन् । रोडा भन्ने ठाउँमा रोडियाको रुखमुनि बालक जन्मेकोले उसको नाम रोड्याल राखियो । उसको सन्तानहरूलाई रोड्याल भन्ने गरियो— तत्कालीन परिवेशमा पाटन स्वराड सुङ्रकोट राज्यमा राजतन्त्रको अन्त्य भै गणतन्त्रको स्थापना गरी विष्ट, भण्डारी, कठायत, ऐरी पालैपालो गरी डोटी राज्यको निर्देशनमा राजप्रतिनिधि भै राज्य सञ्चालन गरेको कुरा यहाँ जनमानसमा व्याप्त छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।