आमा : भोलानाथ सुबेदी (कविता )
कपन अनलाइन
काठमाडौं,बैशाख ९ ।
जब म पाइला सार्छु
प्रत्येक पाइलामा
आमाका हातका चुरा बझ्छन्
लाग्छ
आमा केलाउँदैछिन नाङ्लोमा सामल
निफन्दैछिन भूस
र पन्छाउँदै छिन्
मेररुा गन्तव्यका अवरोधहरु
चाल्नोका प्रत्येक छिद्राबाट
मेरो भविष्य चिहाइरहेकी
हुन्छिन् उनी
मलाई ठेस लाग्दा
उनको छाती चस्कन्छ
म अघाउँदा उनलाई भोक लाग्छ
जब म पाइला सार्छु
आरोहणका प्रत्येक पाइलामा
तेल लगाएर
सेकिरहेछिन् मेरा पैताला
आमाको श्वासको गतिमा
मेरो जीवनका मार्गहरु सलबलाउँछन्
आफ्ना धाँजा फाटेका कुर्कुचामा
खोटो कोचेर
अगुल्टोले सेकिरहँदा
मलाई जुत्ता किन्न
नाकको फुली बेच्दैछिन् उनी
आमासँग स्वार्थ छैन
आमासँग आवेग छैन
दुखाइमा पनि अग्ली छन्
भोगाइमा पनि सग्ली छन्
यौटा सिङ्गो भूगोल हुन
आमा
बिहानीको सुर्योदय आमाकै चरणमा
शिर टेकेर उज्यालिने गर्छ
हामीले विश्वास नगरेका
हामीले भोग्न नभ्याएका
कयौं घटनासँग
आमाको चिनारी छ
त्यसैले त आमा
अर्ती हुन
धर्ती हुन
एउटा परिपक्व इतिहास ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक