बौद्ध महाँकालमा जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको अर्धकदको सालिक अनावरण
कपन अनलाइन
काठमाडौं पौष २० । काठमाडौं महानगरपालिका –६ बौद्ध महाँकालमा जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको अर्धकदको सालिक अनावरण गरिएको छ । शनिबार गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले सालिक अनावरण गरेका हुन्।
४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, नगरप्रवक्ता नारायण बहादुर सुवेदी, काठमाडौं ६ का वडा अध्यक्ष भुवन लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) का सभापति श्रीराम चालिसे, कामपा ६ का सभापति विवेक लामा, कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
शालिक अनावरण कार्यक्रमलाइ सम्बोधन गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेलेनेपाली राजनीतिमा त्यागको पर्यायका रुपमा स्थापित गणेशमानबाट वर्तमान राजनीतिज्ञले पाठ सिक्नुपर्नेमा जोड दिएका थिए । वाटिका तथा सालिक निर्माण समितिका अध्यक्ष दिवाकर न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण बहादुर सुवेदी,वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामा लगायतले राजधानीका विभिन्न स्थानमा रहेका खाली जग्गामा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तित्वको सालिकसँगै बगैँचा निर्माणले शहरी सौन्दर्य बढ्नुको साथै विपद्का बेला स्थान अभावको समस्या नहुने बिश्वास ब्यक्त गरेका थिए ।