हायात चौरमा आश्रय लिनेहरु थपिँदै

हायात चौरमा आश्रय लिनेहरु थपिँदै

काठमाडौँ, २ असार । काठमाडौँ चुच्चेपाटीको हायातचौरमा एक हजार ३०० परिवारका सात हजार भूकम्पपीडित पाल टाँगेर बसेका छन् । अन्यत्र भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपनि यहाँ दैनिक पीडितका नाममा मानिस बढ्दै गएका छन् ।

 

images (2)

वैशाख १२ गतेको भूकम्पपछि ३०० पीडित परिवार बसेकामा २९ गतेको परकम्पले थप एक हजार परिवार थपिएका हुन् । पीडितले चुच्चेपाटी भूकम्पपीडित २०७२ कामनपा–६ नामको समिति गठन गरी शिविरलाई व्यवस्थित गर्न थालेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले वैशाख २९ गतेपछि यहाँको शिविरलाई व्यवस्थित बनाउन प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० सदस्यीय टोली खटाएको छ । टोलीले आश्रय लिई बसेकाको सुरक्षालगायतका विषयमा काम गरिरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

शिविरमा १०० वर्ष नाघेका तीन जना नागरिकले समेत आश्रय लिई बसेका छन् । सोलुखुम्बुकी १०२ वर्षीय लक्की शेर्पा जोरपाटी अर्याल गाउँबाट भूकम्पको त्रासले शिविरमा बसेको बताउनुहुन्छ । “पटक पटक परकम्प गएर त्रास बढ्न थालेपछि कोठामा बस्दा आमा डराउनुभयो, हामी त हतार हतार भाग्थ्यौँ, आमाले भाग्न नसक्ने देखेर यहाँ आई बसेका छौँ” – छोरी दिकी शेर्पाले भन्नुभयो ।

उहाँसँग वि सं १९९० को भूकम्पको अनुभव पनि रहेछ । बयासी वर्ष अघिको भूकम्प सम्झँदै शेर्पाले भन्नुभयो – “सोलुखुम्बुको छिरिङ खर्कमा चौँरी चराइरहेका बेला १९९० माघ २ गते दिउँसो भूकम्प जाँदा रुख हल्लिएर भुइँमा छोएको थियो र चौँरी पनि कराएको थियो । म २० वर्षकी थिएँ । अहिलेजति क्षति त्यसबेला भएको थिएन ।”

शिविरमा १०५ वर्षीया सावित्री कार्की र १०० वर्षीय प्रसादसिंह कार्की पनि कोठा लिएर बसेको घर चर्किएर बस्न नहुने अवस्थामा पुगेपछि शिविरमा आई बस्नुभएको छ । कार्कीद्वय शिविरमा पटक पटक बिरामी परेपछि दैनिक अस्पताल धाउनुपरेको गुनासो गर्नुहुन्छ ।

न्युरोडका स्थायी बासिन्दा सर्जु राउत कोठा भाडा लिएर बौद्ध महाङ्कालमा बस्दै आएकामा कोठामा बसेको घर भत्किएको र आफ्नो घर चर्किएकाले शिविरमा बस्न बाध्य हुनुपरेको गुनासो गर्नुहुन्छ ।

शिविरवासीको सुरक्षाका लागि गठन गरिएको समितिले बसेका पीडितमध्येबाट २०० जनालाई स्वयंसेवक तोकी परिचालन गरेको संयोजक अष्ट गुरुङ बताउनुहुन्छ । संयोजक गुरुङले भन्नुभयो – “शिविरमा १५ वर्षमुनिका बालबालिका एक हजार २०० रहेका छन् । ८० वर्ष नाघेका वृद्धवृद्धाको सङ्ख्या पनि २०० माथि रहेकाले पनि स्वयंसेवक परिचालन गरेका छौँ ।” भूकम्पले चुच्चेपाटी क्षेत्रमा ४५ घरमात्र भत्किए पनि उपत्यकाका धेरै स्थानका मानिस यहाँ आई आश्रय लिएका छन् ।

विद्यालय खुल्नुअघि लुम्बिनी एकेडेमी, तारा सदन र समता शिक्षा निकेतनमा आश्रय लिई बसेका पीडित पनि चौरमा आई बसेकाले आश्रितको सङ्ख्या बढेको हो । काठमाडौँमा कालीगढीको काम गर्दै आएको बङ्गलादेशको एक परिवार पनि यहीँ बसेको समितिले जनाएको छ ।

घर भत्किएका, चर्किएर बस्न नहुने अवस्थामा पुगेका र कोठामा बस्दै आएकामा बस्न नहुने अवस्थामा पुगेकाको बस्ती बसेको शिविरमा विपन्न भन्दा पनि सम्पन्नहरूकै बाहुल्यता रहेको छ । जोरपाटी बेंसीगाउँकी रोशनी श्रेष्ठ घर भत्किएकै कारण शिविरमै बसेर सिफलस्थित ओपल उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहनुभएको छ ।

श्रेष्ठमात्र होइन महेन्द्र बौद्ध उच्च मावि बौद्धबाट प्रवेशिका परीक्षा दिनुभएका किरण बुढाथोकी पनि बसिरहेको घरमा बस्न नसक्ने अवस्था भएपछि शिविरमै आई बसेको बताउनुहुन्छ । “चौरको बसाई घाम लागेका बेलामा पाल तातेर पोल्ने र पानी परेका बेलामा भित्रसम्म पानी पसेर घुँडासम्म पानी आउने हुन्छ” – शिविरको पीडा सुनाउँदै उहाँले भन्नुभयो ।

शिविरमा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)लगायत सङ्घसंस्थाले पानी टयाङ्की र १८ वटा शौचालयको निर्माण गरिदिएपछि सरसफाइ राम्रो भएको छ । ताइवानको तुजु ची संस्थाले मङ्गलबार स्वास्थ्य शिविर र आज राहत सामग्री बाँडेको छ ।

शिविरमा विस्थापितका नाममा स्थापितको रजाइँ हुन थालेको दाबा लामाको गुनासो रहेको छ । “यहाँ ६० प्रतिशत स्थापित र ४० प्रतिशत मात्र भूकम्प पीडित विस्थापितको बसोवास रहेको छ” – उहाँले गुनासो गर्दै भन्नुभयो । पूर्णप्रसाद मिश्र

तपाइँको प्रतिक्रिया ।