हामी कि ऊ ? खेमराज पोखरेल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पुस २।
घरभित्र पस्तै मेरा बाबाले आमालाई भन्नुभएथ्यो, ‘एउटा कुरा थाहा पायौ ?’ ‘कस्तो मान्छे होला ? नभनी कसरी थाहा पाउनु ?’ आमा कुनै काममा हुनु –हुन्थ्यो । च्याट्ठिनु भयो ।
‘हरिशंकरकी बुढीमाउले त आँखा नदेख्ने अपाङ्ग छोरी जन्माइछन् । हरे ! कन्त बिजोग ।’ बुबाले एकै श्वासमा भन्नु– भएथ्यो ।
‘के गर्नु त कर्मको खेल ?’ कामबाट आँखा नउठाइ भन्नु भएथ्यो आमाले ।
‘अब विचरा त्यो अपाङ्गले के गर्छ र यो संसारमा ?, पृथ्वीको बोझ हुने भयो ।’ बाबाले दिक्क मान्नु भयो ।
त्यसैदिन मलाई अमेरिका जाने कागजात मिलाउनु थियो । न बाबालाई आउँथ्यो, न मलाई । हामी सहरको एउटा साइबर स्टुडियोमा गयौँ । कम्प्युटरमा एकजना आँखा नदेख्ने अपाङ्ग विशेष प्रविधिको कम्प्युटरमा सोही काम गर्दै थिए । अमेरिकामा जाने याम परेकाले काम गराउने मान्छेको लाइन लामै थियो । मेरो बाबा खुइय गर्दै हुनुहुन्थ्यो । अन्तत हाम्रो पालो आयो । काम भयो ।
बाटोमा फर्किँदा बाबाले मलाई झर्केको स्वरमा भन्नु भयो , ञञपृथ्वीको बोझ त्यो अन्धो अपाङ्गले बल्लबल्ल हाम्रो काम गरिदियो ।’
मैले झट्ट हरिशंकरको भर्खर जन्मिएको छोरालाई मेरा बाबाले भनेको सम्झेँ । मलाई त्यसरी भनेको मन परेको थिएन । अनि भनेँ —‘बाबा ! एउटा कुरा भन्नुहोस् त ?’
बाबाले जङ्गिँदै भन्नु भयो — के कुरा ?
मैले सुस्तरी भनेँ — ‘जाबो कम्प्युटर चलाउन नसक्ने हामी पृथ्वीको बोझ कि ऊ ? हामी अपाङ्ग कि ऊ ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक