सुकुम्बासी पँखेटा : डा. विदुर चालिसे ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पुस २।
‘गरिबको चमेली बोल्दिने कोही छैन !’
यो गीत सुनेपछि गरिबको न्यायको आश र धनीको वित्यासको त्रास एकै पटक प्रकट हुन्थ्यो । अनि जासुसी चल्थ्यो । युवाहरू देश बचाउन क्रान्तिको आगो फुक्थे । भावना निस्वार्थ र पवित्र थियो । एकदिन हैरान भएर हर्केले गीतको गायकलाई सोध्यो ।
‘अब भारी बोक्ने दिन गए ? जनताका दिन आउने भए ?’
गायकले भरियालाई सम्झाइरह्यो । भरिया दिन आउने आशले ढाकर च्यापेर बसिरह्यो । उसको पछाडिबाट एक मुसा आएर भन्यो ।
‘बुझ्नु भो ! तिम्रो चमेली त मरिछ नि!’
‘कसरी मरि छ त विचरी ?’
‘खै ! गाउँलेले भनेको, गोली लागेर !’
‘कस्तो गोली ?’
‘सेतो !’
प्रजातन्त्र आयो । लोकतन्त्र आयो ।
राजतन्त्र गयो । समाज वाद आयो । गणतन्त्र पनि सुटुक्कै ख्यालख्याल गरेरै आयो ।
हर्के गाउँमा पुग्दा उसको सदगद भइसकेको थियो । पुलिसले मुचुल्का तयार गरे । उनीहरूको मुचुल्कामा लेखिएको थियो ।
‘चमेलीको सेतो गोली लागेर मृत्यु !’
भरिया ढाकर बोकेर घरभित्र पस्यो । चमेलीमाथि अन्याय गर्ने मान्छे कोही देखेन। न्यायका लागि बोलिदिने पनि कोही पाएन । भित्र ओछ्यानमा एउटा कागजको चिर्कटो पल्टेको थियो । त्यसमा एक काइते भाषा लेखिएको थियो ।
‘स्वार्थ कहाँबाट जन्म्यो त ?’
वरपर रहेका देखि जान्नेहरूले अनुमान काढे। सुनी जान्नेहरूले घोरिएर । उनीहरूको कानमा एक घण्टी बजिरहेको पाए ।
‘लालसेनाको कर्तव्य !’
हर्के पोखिएका विषालु ओैषधीका सेता चक्कीहरू टिपेर पुन दिन जगाउन ढाकर लिएर ओरालो लाग्यो । उसले भावुकहुँदै एक गीतको भाका हाल्यो ।
‘बस्नलाई पटक्कै मन छैन, उडी जाउँ भने यहाँ कसैको भर छैन ।’
आकासमा चीलका बथानहरू चिर्चिर गरेर हल्ला गरिरहेका थिए । हर्केको वेदनाको स्वरमा स्वर मिलाएर कराए ।
‘तेरो त पखेंटा नै छैन कसरी सुखले उड्न सक्छस् र ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक