तारेभिरमा पहिरो खस्यो २०० घर सर्नुपर्ने , सभासदले गुहारे विज्ञको टोलि
कपन अनलाइन काठमाडौँ, ३० जेठ । काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिर मा आज बिहान १०ः२० बजेदेखि पहिरो जान थालेको छ ।
पहिराका कारण३०० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । “ठूला ढुङ्गा खसेर पहिरो जान थालेपछि घरमा बस्न नसकिने अवस्था भएको छ, भूकम्पले एक महिना जति घर बाहिर बारीमा बसियो, पहिरोले बारीमा पनि बस्न नसकिने अवस्था आएको छ” – स्थानीयवासी सम्पूर्ण लामाले भन्नुभयो ।
पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी एवम् राजनीतिक दलका नेता कार्यकर्ता अवलोकनका लागि तारेभिर पुग्नुभएको छ । त्रसित स्थानीवासीले बस्ती सार्ने पहल गरिदिन अनुरोध गरेको सभासद् फुयाँलले राससलाई जानकारी दिनुभयो ।
“जोखिममा रहेको ७० घरपरिवारलाई गोठसल्लाघारी वनमा राख्ने पहल गर्दैछौँ, संयोगले मानवीय क्षति नभए पनि अवस्था गम्भीर भएकाले नगरपालिका र राजनीतिक दलका नेताको आकस्मिक बैठकले बस्ती सार्ने निर्णय गरेका हौँ” – सरकारले गठन गरेको बस्ती स्थानान्तरण समितिको संयोजकसमेत रहनुभएका सभासद् फुयाँलले भन्नुभयो ।
नेपाली काँग्रेस ३ नं क्षेत्रका सचिव एवम् स्थानीयवासी श्रीकृष्ण ज्योति स्थानान्तरण गरिने घरपरिवारका मानिसलाई राहतसहित बस्ने खाने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनुहुन्छ । “पहिरो गएको स्थानमा डरलाग्दो दृश्य देखिएकाले भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई छिटो अध्ययन गर्न आजै खबर गरेका छौँ, ठूला धाँजा फाटेको र दैनिक वर्षा हुन थालेकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ” – उहाँले भन्नुभयो ।
वैशाख १२ गतेको भूकम्पका दिन सामान्य पहिरो गए पनि धाँजा फाटेका स्थानमा शुक्रबार रातिको वर्षाले पहिरो गएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । पहिरो बढ्दै गएमा नगरपालिकाका ७ र ८ नं वडाका २०० घर परिवारसम्मलाई असर पुग्ने स्थानीयवासी ज्योतिले बताउनुभयो ।