माइतीघर मण्डलामा दीप प्रज्वलन
काठमाडौँ, २५ जेठ । भूकम्पमा परी मृत्युहुने सम्पूर्ण नेपालीको मृत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ कामना गर्दै आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरियो ।
कार्यक्रममा १०८ ब्राम्हणले शान्ति, स्वस्ती पाठ गर्दै नेपालको पुनःनिर्माणका लागि राष्ट्र र राष्ट्रियताप्रति श्रद्धा र सङ्कल्प गर्नुभएको थियो ।
दीप प्रज्वलनको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले भूकम्पमा परी दिवङ्गत हुने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उहाँले भूकम्पबाट क्षति भएका सम्पदाहरू, व्यक्तिगत घरहरू तथा विभिन्न मठमन्दिरहरूको पुनःनिर्माणका लागि एक अर्काको साथ आवश्यक रहेको बताउनुभयो ।
डा भोला रिजाल, कलाकारद्वय कोमल ओली र सुनिल थापाले भूकम्पपीडित महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।
ॐकार परिवार नेपालद्वारा आज साँझ आयोजित स्वस्ती, शान्ति तथा दीप प्रज्वलन कार्यक्रममा राजनीतिक दलका नेताहरू, प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, कलाकार, स्वास्थ्यकर्मी, समाजसेवी, धर्म गुरु, सञ्चारकर्मीलगायत हजारौँको सहभागिता थियो ।
ॐकार परिवारका अध्यक्ष मुकुन्द शर्माले मुलुकको पुनःनिर्माण कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभयो ।