बुढानीलकण्ठका वडाहरुमा नगद राहात
बुनपा -जेठ २५ / बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि सरकारले दिने भनेको पहिलो चरणको नगद राहत वितरण बुढानीलकण्ठ नगरपालिकामा पनि चलिरहेको छ ।
साविक महाँकाल गाविस र हालको बुढानीलकण्ठ नगरपालिका वडा नं ९, १० र ११ मा पहिलो चरणको नगद राहत वितरण भई सकेको छ । त्यस्तै साविक खड्का भद्रकाली गाविस र हालको बुनपा वडा ७ र ८ मा पनि नगद राहत वितरण भईसकेको छ ।
साविक खड्का भद्रकाली गाविस र हालको बुढानीलकण्ठ नगरपालिका वडा नं ७ र ८ मा बैशाख १२ को विनाशकारी भुकम्पछि घर पूर्ण रुपमा क्षति भएका र बैकल्पिक बासस्थान नभएकाहरुलाई सरकारले अस्थाई वासस्थान निमार्ण गर्न दिने भनेको पहिलो चरणको नगद राहत १५ हजार वितरण गरिएको छ ।
पहिलो चरणको नगद राहत लिनेमा हालसम्म वडा नं ७ र ८ मा क्रमशः ८३ घर र ५८ घर रहेको कपनअनलाइनलाई प्राप्त विवरणमा उल्लेख छ । संयुक्त वडा कार्यालयमा हालसम्म प्राप्त विवरण अनुसार वडा नं ७ मा ११८ घर र वडा नं ८ मा १०२ घर गरी जम्मा २२० घर पूर्ण रुपमा क्षति भएको छ । २२० घरको पूर्ण क्षतिको विवरण प्राप्त भएतापनि बाँकीका हकमा भने प्राविधिक चेक जाँच बाँकी रहेको र त्यसको रिर्पोट आईसकेपछि पहिलो चरणको नगद राहत वितरण गरिने संयुक्त वडा कार्यालयका सचिव अच्यूत खड्काले बताए ।
उनले भने हामीले प्राविधिक चेकजाँच गर्न बाँकीका बाहेक सबैलाई पहिलो चरणको नगद राहत वितरण गरिसकेका छौँ । अहिलेपनि १८–२० घर पूर्ण रुपमा क्षति भएको भन्ने निवेदन वडा कार्यालयमा आएको छ । यस सम्बन्धि पनि हामी छलफल गरिरहेका छौँ ।