शंखरापुर नगरपालिकाले १ सय ७९ मेट्रिक टन रासायनिक मल पाउने
कपन अनलाइन
काठमाडौं साउन २८ । शंखरापुर नगरपालिकाले १ सय ७९ मेट्रिक टन रासायनिक मल पाउने भएको छ । शंखरापुर नगर प्रमुख रमेश नापितको पहलमा सो नगरपालिकाका लागि १ सय ७९ मेट्रिक टन रासायनिक मलको कोटा निर्धारण भएको हो ।गत साउन १२ गते नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, कृषि शाखाका प्रमुख सीता गुरागाई बागमती प्रदेशको कार्यालय हेटौंडा पुगेका थिए । हेटौंडामा नगर प्रमुख नापितले बागमती प्रदेश कृषि तथा पशु बिकास मन्त्रालय पुगेर रासायनिक मलको कोटा बढाउन आग्रह गरेका थिए ।
विगतमा शंखरापुर नगरपालिकाका लागि ५५ मेट्रिक टन मलको कोटाबाट अहिले कृषि सामग्री कम्पनी लिमिटेडबाट १ सय ७९ मेट्रिक टन मलको कोटा निर्धारण गर्न सफल भएको हो ।यसबाट भविष्यमा शंखरापुर नगरपालिकामा मलको समस्या केही हदसम्म समाधान हुने अपेक्षा लिइएको वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले बताएका छन् ।नेपालमा विदेशबाट रासायनिक मल आपुर्ति भएपछि शंखरापुर नगरपालिकाले सो परिणमको यूरिया मल पाउने कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीले यही साउन २५ गते सो परिणामको मल उपलब्ध गराउने बारेको पत्र शंखरापुर नगरपालिकालाई पठाएको छ ।