बिपी सङ्ग्रहालयमा चार करोड क्षति
सुन्दरीजल (काठमाडौँ), २१ जेठ । गत वैशाख १२, १३ र २९ गतेको भूकम्प तथा पटक पटकका परकम्पले बिपी सङ्ग्रहालयमा रु चार करोड बराबरको क्षति भएको छ ।
सभासद् रामचन्द्र पोखरेलको नेतृत्वमा पूर्वसभासद् एवम् काँग्रेस नेता पुरुषोत्तम बस्नेत, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्ले र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष मुरारी शर्मा सम्मिलित अवलोकन समूहलाई आज जानकारी गराउँदै सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सङ्ग्रहालयको बाहिरी पर्खाल, भित्री भवन र सुरक्षाका लागि चार दिशामा राखिएका बुर्जाको क्षतिसमेतको प्राविधिक अध्ययनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सो क्षतिको हिसाब निकालेको उहाँले जानकारी दिनुभयो ।
राणाकालमा सुन्दरीजल आर्सनलका प्रमुख बस्ने निवासका रुपमा सो भवन बनाइएको थियो । विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको ‘कु’ पछि भवनको वरिपरि पर्खालले घेरी फागुनमा जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई सो भवनमा बन्दी बनाइएको थियो । “बन्दीगृहको मूल भवन राणाकालमै बने पनि वरिपरिको पर्खाल नेताहरुलाई थुन्न ल्याउनुअघि रातारात बनाइएको हो, पर्खाल बनाउनेलाई मैले दूध, दही र मोही लगेर खुवाएको थिएँ”, स्थानीयवासी ८० वर्षीय मोदनाथ पोखरेलले भन्नुभयो ।
पञ्चायतकालमा बनाइएको दक्षिण पूर्वी दिशाको बाहिरी पर्खाल र सङ्ग्रहालय घोषणा भएपछि बनाइएको पूर्वोत्तरको पर्खाल पनि भूकम्पले पूर्णरुपमा भत्किएको छ । कतै बाँकी रहेको पर्खाल पनि बीचमा चार इन्चसम्म अगाडि सरेर धराप अवस्थामा पुगेको छ । सर्वसाधारणले सुन्दरीजल बन्दीगृह भनी चिने पनि पञ्चायती सरकारले यसलाई ‘गैँडागस्ती’ नाम दिएको थियो । “भवन भत्किएको संरचनामा विसं १९७४ र १९९२ का इँटा भेटिएको छ, यस आधारमा त्यही समयमा यो भवन बनेको पुष्टि हुन्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।
शाही ‘कु’ पछि बिपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्र, सूर्यप्रसाद उपाध्याय र प्रेमराज आङ्देम्बेलगायत नेतालाई राजबन्दीका रुपमा भवनमा राखिएको थियो । विसं २०२५ मा छाडिएका नेतालाई २०३३ साल पुस १६ गतेको राष्ट्रिय मेलमिलाप नीति लिएर भारत निर्वासनबाट फर्किएपछि बिपी, गणेशमानलगायत नेतालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बन्दीगृहमै लगी थुनिएको थियो ।
विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना भएपछि बन्दीगृहलाई बिपी सङ्ग्रहालय बनाउने अवधारणा सुरु गरी १५ वर्षे प्रयासपछि २०६१ साल भदौ २४ गते तत्कालीन आन्दोनरत सात दलका शीर्षस्थ नेताले सङ्ग्रहालयको शुभारम्भ गरेका थिए । शुभारम्भपछि यहाँ थुनिएका नेताको चिजबीजको सङ्ग्रह गरी अवलोकनका लागि आकर्षक स्थल बनाइएकामा भूकम्पले सङ्ग्रहालयलाई पूर्ण रुपमा ध्वस्त बनाएको काँग्रेस नेता बस्नेतले बताउनुभयो । “नेपालको प्रजातान्त्रिक आन्दोनसँग जोडिएको यो ऐतिहासिक धरोहरलाई पहिलेकै स्वरुपमा पुनःनिर्माण गरी भावी पुस्तालाई राजनीतिक इतिहासको प्रत्यक्ष ज्ञान दिने केन्द्रका रुपमा सुरक्षित राखिनुपर्छ”, उहाँले भन्नुभयो ।
भूकम्पले २४ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालयको सात सय गोलाइको पर्खाल, पञ्चायतकालमा बन्दीगृह बनाई हाल बन्दी नेताका जीवनसँग सम्बन्धित चिजबीज सङ्ग्रह गरिएका भवन पूर्ण रुपमा क्षति भएको छ । यसलाई अस्थायी रुपमा जस्तापाताबाट घेर्नका लागि तीन सय बन्डलको आवश्यकता पर्ने पर्यटन विभागका प्राविधिकको जाँचबाट देखिएको सङ्ग्रहालय समितिले जनाएको छ ।
“अस्थायी रुपमा चिजबीजको सङ्ग्रह गर्नका लागि ४५ फिट लम्बाइ र ४० फिट चौडाइको ट्रस बनाउने सोच बनाएका छौँ”, अध्यक्ष पोखरेलले भन्नुभयो, “विकास बजेटका रुपमा मन्त्रालयले सो आर्थिक वर्षमा रु ३० लाख मर्मतसम्भारलगायत कामका लागि छुट्याएको थियो, पाँच प्रतिशत आकस्मिक खर्च कटाएर रु २८ लाख ५० हजार आएकामा त्यो बजेटको मर्मतसम्भार भइरहेको थियो, थोरै बजेट बाँकी हुँदा भवन ध्वस्त भएको छ ।”
सभासद् पोखरेलले सङ्ग्रहालयमा भएको क्षतिको जानकारी प्रधानमन्त्री र संस्कृति मन्त्रीलगायत सरोकार भएका सरकारी निकायमा गराएर छिटो पुनःनिर्माणको पहल गरिने बताउनुभयो ।