काठमाण्डौ क्षेत्र नं ५ मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ ,साउन १८
प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको समयमा अहिले राजनीतिक जोड घटाउ सुरु भएको छ। काठमाण्डौ क्षेत्र नं ५ मा पनि अहिले स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र आंकलनहरु सुरु भएका छन।
काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।
२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५० मतले अगाडी रहेको छ।
काठमाण्डौ क्षेत्र नं ५ का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।
निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।
२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।