तरलता अभाव कारण र प्रभाव


–हरिप्रसाद पाण्डे

तरलता शब्दसँग अब कोहि व्यक्ति अनविज्ञ नहोलान् । त्यसैले तरलता शब्द तथा यसको अर्थमा भन्दा पनि यसको कारण र प्रभावको बारेमा ब्याख्या हुनु बढी सान्दर्भिक हुन्छहोला । तरलता विशेषत देशको मौद्रिक नीतिसँग सम्बन्धित बिषय हो र यसको व्यवस्थापन केन्द्रीय बैंकले गर्ने गर्दछ । कुनैबेला बजारमा नगद अधिक प्रबाह भएर मुद्रास्फिती बढ्न गई वस्तुको बजारभाउ अत्याधिक वृद्धि हुन पुग्दछ र यस्तो बेला केन्द्रीय बैंकले बजारबाट खर्चयोग्य रकम (तरलता) बचतपत्र, ऋणपत्र वा यस्तै अन्य औजारहरुको प्रयोग गरी केन्द्रीय बैंकमा तानी विभिन्न दीर्घकालीन पूर्वाधार विकाशको क्षेत्रमा लगानी गर्न आवश्यक वातावरण तयार गर्दछ । जसले गर्दा एकातिर बजार मुल्य नियन्त्रण हुन्छ भने अर्कोतर्फ दीर्घकालिन पुँजी निर्माण भइ देशमा विकाशको पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाउन सहज हुन्छ । तर कुनैबेला बजारमा नगद कम प्रवाह भएर खर्चयोग्य रकम (तरलता) को अभाव भई आर्थिक गतिविधिमा नै नराम्रो असर पु¥याइरहेको हुन्छ ।

तरलताको अभाव हुँदा निक्षेप तथा कर्जाको ब्याजदर बढ्न जान्छ । यसले गर्दा उद्योगधन्दामा प्रयोग  हुने पुँजीको लागत बढी भई सो को भार उद्योगबाट उत्पादित बस्तुहरुको उत्पादन लागत बढ्न गई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउँछ । जसले गर्दा औद्योगिक उत्पादनको बिक्री घट्न पुग्दछ । सामान्य अवस्थामा त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीहरु वेरोजगार हुन पुग्दछन्, त्यहाँ लगानी गर्ने बैंकहरुको कर्जा डुब्ने अवस्था हुन्छ । बैंक कर्जा डिफल्ट हुदा एउटा निश्चित विन्दु सम्म त बैंकहरुले कर्जा नोक्सानि व्यहोर्न सक्लान् तर त्यो भन्दा बढी भयो भने बैंकनै डुब्ने सम्भावना हुन्छ । कुनै एउटा बैंक डुब्ने अवस्था आयो भने समग्र बैंकिङ क्षेत्रप्रति नै निक्षेपकर्ताहरुको विश्वास घट्न जान्छ र बजार बाट थप पुँजी पलायन हुन थाल्दछ ।

नेपालमा नेपाल विकास बैंकबाट शुरु भएको वित्तीय समस्या गोर्खा विकास बैंक हुँदै क्यापिटल मर्चेन्ट एण्ड फाइनान्ससम्म आइपुगेको छ । यसरी कुनै वित्तीय संस्थामा समस्या आउँदा त्यस संस्थामा तरलता कायम गर्ने गरेका अन्य वित्तीय संस्थाहरु पनि प्रभावित हुन्छन् । जस्तो एक बैंक मा समस्या आउदा त्यस बैंकमा खाता खोली तरलता कायम गर्ने गरेका अन्य वित्तीय संस्था पनि समस्यामा पर्दछन् । त्यसैले हाल तरलता अभावको कारण यो डुब्यो वा त्यो डुब्यो भन्नु भन्दा पनि के कारणले यो समस्या सिर्जना भयो र यसको समाधानको उपाय के हुन सक्दछ भनि नियामक निकायहरुले बेलैमा विश्लेषण गरी आवश्यक निर्णय नलिने हो भने अझ कति वित्तीय संस्थामा समस्या आउँछ, यो अनुमान भन्दा बाहिरको कुरा भएको छ । जुन संस्थामा जति परिमाणमा जोबाट गलत काम भएको छ त्यहा त्यतिनै परिमाणमा गल्ती गर्ने व्यक्तिलाई नै सजाय हुने परिपाटीको विकास गरिनुपर्दछ । रु १३ करोडको विवादलाई बल्झाएर रु ३ अर्ब जोखिममा पारिएको गोर्खा विकास बैंककोे घट्नालाई निक्षेपकर्ताहरले पनि ख्याल राख्नुपर्ने देखिन्छ । त्यसैगरी बैंक संस्थापकहरुले पनि केन्द्रीय बैंकले दिएको लाइसेन्सको भरमा निक्षेपकर्ताले विश्वास गरी निक्षेप जम्मा गरेँ भन्दैमा सो रमकलाई व्यवस्थित लगानी नगरी व्यक्तिगत स्वार्थमा लिप्त भएर लगानी गर्ने प्रवृत्ति तत्काल बन्द गरिनु पर्दछ । वित्तीय व्यवसायमा निक्षेपकर्ताहरुको विश्वास जबसम्म कायम रहन्छ तबसम्म मात्र चल्दछ । त्यसैले बैंक प्रवद्र्धकहरुले निक्षेपकर्ताहरुको विश्वास जित्ने गरी काम गर्नेतर्फ ध्यान दिनुपर्दछ । बजेट समयमा नआउने र आएको बजेट पनि संक्रमणकालीन परिस्थितिले समयमा खर्च हुन नसक्ने अवस्था बजारमा तरलता अभाव हुनुको प्रमुख कारण भएको छ । कुनै एउटा क्षेत्र फष्टाउँदा सम्पूर्ण पुँजी त्यतैतिर मात्र केन्द्रीत हुनुले अहिलेको अवस्था सिर्जना भएको छ । अझ पछिल्लो समयमा त कतिपय बैंकहरु घरजग्गामा मात्र लगानी गर्ने गरी खोलिएको जस्तो देखिन्थ्यो । जब केन्द्रिय बैंकले घरजग्गा कर्जामा कडाई ग¥यो, त्यतिबेलैदेखि बैंकहरुको लगानी जोखिममा परेको हो । एकातिर घरजग्गाको कारोबारमा आएको मन्दीले ऋणीको आयश्रोतमा कमी आई कर्जा तिर्न नसकिरहेको अवस्था छ भने अर्कोतर्फ ऋणीले बैंकमा राखेको धितोको मूल्य घट्दै जादा कर्जा तिर्न हिच्किचाउन थाले । बैंकमा रु १० लाख भन्दा बढीको रकम जम्मा गर्दा श्रोत खुलाउनुपर्ने प्रावधानले गर्दा ठूला निक्षेपकर्ताहरु अनावश्य झण्झटमा फसिने डरले औपचारिक क्षेत्र भन्दा पनि ढुकुटी जस्ता अनौपचारिक क्षेत्रमा रकमको कारोबार गर्न थाले । अन्तरबैंक सापटी पनि डुब्ने अवस्थाले बैंकले बैंकलाई नै नपत्याउने अवस्था सिर्जना भयो । तरलता अभाव झन् चर्कियो । अझ पछिल्लो समयमा त हल्लाकै भरमा बैंक डुब्ने अवस्था सिर्जना भएको छ । केन्द्रिय बैंक तथा  प्रवद्र्धकहरुले वित्तीय संस्थाहरुको बजार संवेदनशीलताको ख्याल नगर्दा यस्तो अवस्था आएको हो ।

तरलता अभाव भई वित्तीय  संस्थाहरु समस्यामा पर्नुमा मानवीय स्वभावले पनि महत्वपूर्ण भूमिका खेलेको छ । स्थिति सहज भएको बेलामा जुन संस्थामा  सबैभन्दा बढी ब्याज छ, त्यही संस्थामा निक्षेप राख्ने र स्थिति अलिकति असहज हुँदा त्यही व्यक्ति आफूलाई रकम आवश्यक नभएपनि निक्षेप झिक्न जाने प्रवृत्तिले वित्तीय संस्था थप  समस्यामा पर्ने गरेका छन् । ठूलो आकारको निक्षेप बैंकहरुलाई घातक हुन्छ भन्ने कुरा बैंकहरुले अहिले आएर महसुश गरेको हुनुपर्दछ । अझ पछिल्लो समयमा त व्यक्तिगत निक्षेपकर्ताहरुले सेनाकोे रकम छ कि छैन भनेर सोध्ने गरेको समेत पाइएको छ ।

यसरी यी यावत बिषयहरुको सुक्ष्म विश्लेषण गरी केन्द्रीय बैंकले बेलैमा समयानुकुल निर्णय लिनुपर्ने हुन्छ । बजारमा तरलता अभाव भएको बेलामा सरकारी खातामा भएको रकम सहजै बजारमा पु¥याउने वातावरण निर्माण गर्नुको साटो उल्टै ६ अर्ब ६८ करोडको राष्ट्रिय बचतपत्र  २०७३ जारि गरेर केन्द्रीय बैंकले उल्टो निर्णय गरेको छ । बजारमा आर्थिक मन्दी छाएर लगानीको वातावरण निर्माण नभएको बेलामा निक्षेपको ब्याजदर बढाएर वित्तीय संस्थाहरुले पनि उल्टो निर्णय गरेका छन् । यी सबै उल्टा निर्णयहरुको परिणाम भोलिका दिनहरुमा वित्तीय क्षेत्र अझै चुनौतिपूर्ण हुने निश्चित छ ।

(पाण्डे नवकान्तिपुर बहुउद्देश्यीय सहकारी, बत्तिसपुतलीका शाखा प्रबन्धक हुनुहुन्छ)

तपाइँको प्रतिक्रिया ।