व्यस्तता : रवीन्द्र समीर (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असार १८।
गाउँबाट छोराबुहारी तथा नाति नातिना भेट्न उनी काठमाडौं आए ।
छोरा ल्यापटपमा फेसबुक चलाउन व्यस्त थियो । उनी भए नभएको वास्तै नगरी बेलाबेलामा फेसबुकका फोटासँग मुसुमुसु हाँसिरहेको थियो ।
त्यसपछि उनी अर्को कोठामा गए । बुहारीले एकटकले हिन्दी सिरियल हेरिरहेकी थिइन् । उनी आएको त थाहै पाइनन् । सुस्तरी बोलाए पनि । सिरियल हेरिरहेको मान्छेले सानो आवाज के सुन्नु !
नातिको कोठामा जाँदा ऊ मोबाइलमा क्यान्डी क्रस गेम खेलिरहेको थियो । हजुरबा तिर त हेर्दै हेरेन ।
नातिनीको कोठामा गए ।नातिनी कार्टुन हेर्न व्यस्त थिई । उनलाई तवास्तै गरिन ।
सबै आ–आफ्नो संसारमा व्यस्त भएको र आफूलाई नदेखेको हुँदा उनलाई नरमाइलो लाग्यो । त्यसपछि एकदुई पटक कृत्रिम खोकी खोके, चप्पल बजाउँदै भित्र बाहिर गरे तर कसैले सुनेनन् ।
एक हप्तापछि त्यो घरमा एउटा चिठी आयो । छोराले चिठी पढ्यो— सबै असाध्यै व्यस्त रहेछौ । म आएको बेला कसैले देखेनौ । दसैंमा ल्यापटप र मोबाइलका ठाँडा नबोकी आउनू, यहाँ टिभी पनि छैन । तिमीहरुलाई अब यही गाउँमा भेटौंला, पेटभरि मनका कुरा गरौंला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक