अभियन्ता : लीलाराज दाहाल (लघुकथा)

अभियन्ता : लीलाराज दाहाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

एकदिन रत्नपार्कको पुरानो बस पार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो ।
‘आफ्नो टोल, नगर सफा राखौं’ भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुमपान, मद्यपानलाई निरुत्साहित गर्नु, सर सफाईको महत्वलाइ जनस्तरमा पुर्याएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो ।
उनीहरु पुरानो बस पार्क,
रत्नपार्क, जमलहुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहर मैला टिप्दै, प्लेकार्ड देखाउंदै, फोटो खिच्दै हिंडिरहेका थिए । टोली त्रिचन्द्र कलेज अगाडि पुगेर अडियो ।
हातहातमा बोकेका प्लेकार्ड भुँईमा राखेर उनीहरुले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले । अनि कसैले बिदेशी मदिरा गिलासमा खन्याएर, कसैले बोतलबाटै पिउन थाले ।
हल्का बिश्रामपछि उनीहरु अगाडि बढे ।
उनीहरुले खाएर फालेका बिस्कुट, चाउचाउका खोल, पानी र मदिराका खालि बोतलहरु भने सडकभरि जताततै छरिएकाथिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।