तारा : तुलसीराम खरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार ११ ।
आकास पुरै खुलेको थियो । लाखौं ताराहरु झलल बलेझैं लाग्यो । चन्द्रमाको अभावको खासै अनुभव भएको थिएन, उनलाई । उत्तरबाट दक्षिणतर्फ आकासमा देखिएको लामो सेतो गुजुल्टो आकासगंगा भित्रको सेतो धुलो र ससाना लाग्ने हजारौं ताराहरु भित्रै सूर्य सहितको आफ्नो पृथ्वी घुम्दैछ भन्ने कल्पना गरे, उनले ।
भोलिपल्ट बिहानै उठे, शिवराज । भान्सा कोठा सुनसान थियो । धाराबाट चिसो पानीथापे । दुई गिलास चिसो पानीले उनको रातभरि जलेको हृदयलाइ शान्त पार्न सकेन । केटाकेटी उठेका थिएनन् । नजिकैको पसलवाट पाउरोटी र घुमेको रोटीजस्तो ब्रेड किनेर ल्याए । सानी छोरीलाइ त्यो ब्रेड सारै मन पथ्र्यो । चिया बिस्कुट, ब्रेडजामले केटाकेटीको मन प्रफुल्लित भयो । छोरीले सोधिहालिन् ‘बाबा
मामुले सँधै काखमा बोकेर ब्रेड दिनुहुन्थ्यो मामुसँग किन फोन लाग्दैन ?’ शिवराजले छोरीलाई काखमा राखे, चुम्बन गरे, तर केही उत्तर दिनभने सकेनन् ।
रात छिप्पिसकेको थियो । साउन महिना भएपनि खडेरीले धानखेत पटपट फुटेको देखिन्थ्यो । शिवराजको छातीपनि धानखेत भन्दाकम फुटेको थिएन । यो ब्यथा कसैलाई सुनाएर मन हलुको पार्नै नसक्ने गरी उनी थला परेका थिए । रातको सफा आकासका लाखौं ताराले आज शिवराजको मन भुलाउन सकेन । एउटा उज्यालो ताराको सम्झनाले उनको मुटु चुँडिन खोज्यो । भोलि छोरीलाई कसरी ढाँट्ने भन्नेकुराले उनलाई आंकुसे जुकालेझैं डस्न थाल्यो ।
भोलिपल्ट छोरीले सोधी बाबा फोन लगाइदिनु न, मामुसँग कुराकानी गर्छु नि , बाबा । उनका आँखा आँशुले लपक्कै भिजे । ढाँट्नै मन लागेन । छोरीलाई अंगालोमा बेस्सरी कसे र भने– ‘नानु मामु खाडी मुलुकमा कामको सिलसीलामा कहिल्यै नफर्कने गरी बिलाइन् ।’ आँशुले भिजेका परेली खोलेर रातको आकासमा सधैँसँधै उनकी ताराको खोजी गर्ने बानीले उनलाई भने छोडेको थिएन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक