सर्वनाम शिक्षालय जोरपाटीका होस्टेल वार्डेनले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालय घेराउ
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१।
गोकर्णेश्वर नगरपालिका जोरपाटीमा रहको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टेलमा बस्ने बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै अभिभावकहरूले विद्यालय घेराउ गरेका छन् ।
सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतले होस्टेलमा बस्ने बालिकाहरूमाथि अश्लील हर्कत गरेको भन्दै आज अभिभावकहरूले विद्यालय घेरेका हुन् ।
होस्टेलमा बस्ने विद्यार्थीहरूले वार्डेन बस्नेतले साना बालिकाहरूको विभिन्न अंग सुम्सुम्याउने, अलि ठूलालाई काखमा राख्ने र विभिन्न अश्लील भिडिओ एवं फोटोहरू देखाउने गरेको आरोप लगाएका छन् ।
विद्यार्थीहरूले वार्डेनले गर्दै आएका हर्कतहरू आफ्ना अभिभावकलाई भनेपछि आज शनिबार अभिभावकहरू विद्यालय पुगेका हुन् । प्रहरीसँगै लिएर अभिभावकहरू आएको थाहा पाएपछि वार्डेन बस्नेत फरार भएका छन् भने अभिभावक र विद्यालय प्रशासनको बौद्धस्थित प्रहरी वृतमा वार्ता चलिरहेको छ ।