संस्मरण : गङ्गा आचार्य सापकोटा (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१।
हामी केटी केटी साथी मिलेर एक छिमेकी साथीको आँगनमा ‘यति यति पानी गङ्गा रानी’ खेल खेल्दै थियौँ । साथीकी आमा भित्रबाट आएर एक्कासी नमिठो बोल्नुभयो, ‘हेर, कति छन्, यी बन्साकाबोट । जाओ, आ–आफ्ना घर ।’ अनि आफ्नी छोरीको कपालमा समाउँदै तानेर भन्नुभयो, ‘जा भाइलाई बोक ।’
साथीले ‘हामीलाई पर्ख है’ भन्दै भाइलाई बोकेर आइन् र फेरि खेल्न थालिन् । सबै खेल्न थाले । माया नै मायामा हुर्केकी मलाई साथीकी आमाको व्यवहार चसक्क बिझ्यो । पटक्कै खेल्न मन लागेन । घर आएँ र हजुरआमालाई सोधेँ, ‘बन्साकाबोट भनेको के हो ?’ सँगसँगै मैले सबै घटना बताएँ ।
हजुरआमाले मलाई आफ्नो छातीमा बेस्सरी टाँसेर खपिन सक्नु प्रेम बर्साउँदै भन्नुभयो, ‘तिम्रा सबै साथीलाई बोलाएर हाम्रै आँगनमा खेल न । अनि कसले गालीगर्दो रहेछ मेरी नातिनीलाई ।’ मैले केही कुरा बुझिन् तर त्यो वाक्य मस्तिष्कमा बसि राख्यो ।
उमेर बढ्दै जाँदा मैले आफ्नै किसिमले अर्थ लगाएँ । ‘समाजका केही व्यक्तिले छोरीलाई झारसँग तुलना गर्ने र आफ्नो सहाराको रूपमा छोरालाई मात्र हेर्ने गर्दा रहेछन् ।’
धेरै बर्षपछि यस पालि उनै आमासँग भेट भयो । रोगले जिर्ण हुनुभएको रहेछ । कारुणिक स्वरमा भन्नुभयो । ‘छोराले हेला गर्यो नानी, अचेल छोरीको घरमा बस्छु ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक