भित्तोको जुत्ता : डा. गोबिन्दशरण उपाध्याय (स्तम्भ : यो कथा होइन)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
अन्दाजी १० वर्षको एउटा बालक त्यो भव्य बोर्डिंग–स्कुलको ‘बाहिरी भित्तो’ (बाउन्ड्री वाल) माउकेरिएका सुन्दरचित्रहरू बडो ध्यानले हेरिरहेको थियो ।
सरकारी विद्यालयमा पढ्ने पोसाक र एउटा फाटेको झोलामा कितावबोकेको प्रष्ट देखिन्थ्यो तर खुट्टामा जुताचप्पलको नामोनिशान थिएन । चिसो सिरोटोले उसको शरीर थुरथुर कामिरहेको थियो । विद्यालयको भव्यभवन अगाडी अनेकौं ब्राण्डका महङ्गा कारहरू पार्किंग थिए । विद्यालय भित्र वाहिर आउने जाने क्रम चलिनैरहेको थियो ।
अचानक मेरो नजर ती बालकमा पर्यो तर सम्भवतःविद्यालयको पालेले उसलाई देखेको थिएन, नत्रलखेटी सक्थ्यो । म उसले नजान्ने गरी नजिकै पुगें । उ आफ्नै धुनमाथियो । मैले उसका क्रियाकलपहरू चियाउने निधो गरेको थिएँ । मैले देखें : उ भित्तामा अङ्कित बालबालिकाले खुट्टामा लगाएका जुत्ताहरूको नापिरहेको थियो । आफ्ना ससाना हातका औंलाले भित्तामा भएका बालबालिकाको जुत्ताको साइज मापन गर्थ्यो, अनिझुकेर आफ्नो खुट्टामा तेसको परीक्षण गर्थ्यो । एकैछिन उसको अनुहारमा खुसी झल्किन्थ्यो । अनि, मोजा र बालबालिकाले लगाएका लूगाहरू स्पर्श गर्ने प्रयत्न गर्थ्यो तर ती सबै अग्लो ठाउँमा थिए । मैले देखें – भित्ताका चित्रहरूले बोकेका झोलाहरूले पनि बालकको ध्यान तानेको रहेछ । उ झोला तिर बडो ध्यान हेर्थ्यो अनि, आफुले बोकेको झोलाको च्यातिएको प्वाल लुकाउने असफल प्रयत्न गरिरहेको हुन्थ्यो । सुन्दर र सफा अंग्रेजी अक्षरका लेखौटहरूलाई हातले स्पर्श गर्दै बडो तन्मयताको साथ उसले बोलेर (एकएक अक्षर) पढेको पनि सुनिन्थ्यो र यो क्रिया उ वारम्वार गरिरहेको थियो ।
यत्तिकैमा ‘पाले’को नजर ती बालकमा पर्यो । ‘ए खाते भाग त्यहाँबाट ! भन्दै बालकलाई लखेटे । बालक पनि कुनै पनि प्रतिक्रिया नगरी त्यहाँबाट दौडिए । त्यो भित्ताले बालकलाई बुझ्ने कुरै भएन । बालबालिकाका अभिभावकसंग भित्तो भित्रको संसार चिहाउने हैसियत छैन । यहाँ एस्ता असंख्य भित्ताहरू र तिनका संरक्षक छन् । ‘खाते’हरूलाई भगाउने अनेकौं संयन्त्र छन् ।
‘जुत्ता लगाएर भित्तो भित्रको उज्ज्यालोमा रम्ने र भित्तोवाहिर उभिएर जुत्ताको साइजनाप्ने, अक्षर देखेर चित्त बुझाउने नागरिकहरू भएको नेपालको मजस्तो निरीह नागरिकले यो प्रसंग लेखेर पाठकसम्म पुर्याउन र सुन्न चाहनेहरूका लागि बोलेर सुनाउनबाहेक के नै गर्न सक्छु ! धनि र गरीवका लागि सरकारले नै तयार गरेको ‘विशाल भित्तो’का यहाँ धेरै हिमायतीहरू छन् । भित्तो वाहिरको आवाज कसैले सुन्दैन, भित्तो भित्रको आवाज कसैले टार्दैन । बाबु ! मलाई क्षमा गर !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक