समवेदनाका शृङ्खलाहरू : डा. रवीन्द्र समीर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
‘मलाई कहिल्यै पनि चिन्ता, तनाव, अधैर्यता ….हुँदैन …….।’ उसले दृढता व्यक्त गर्दथ्यो – परिवार, समाज, साथीहरूसँग ।
उसको धैर्यता, सहनशीलता एवम् स्वाभाविक व्यवहारबाट सबैलाई त्यस्तै लाग्दथ्यो । नपत्याए परीक्षण गरेर हेरे हुन्छ – उसको पहाडजस्तो अटल दाबी कसैलाई पनि अस्वाभाविक
लाग्दैनथ्यो । जीवनयात्रामा ऊ धेरै ठाउँ, असफल भयो, ठक्कर खायो, सङ्घर्ष भोग्यो – तर ऊ हिमालजस्तै मुस्कुराइरहृयो । पढाइमा असफल हुँदा, सम्पत्ति नष्ट हुँदा, बिरामी पर्दा, भोकप्यास लाग्दा, आर्थिक अभाव हुँदा, मनपर्ने वस्तु खोसिँदा, आफुले गरेका कामहरू बिग्रँदा ………..ऊ सहज देखिन्थ्यो – मानौँ कुनै घटना घटेकै छैन । उसको असाधारण तथा आशावादी गुण देखेर एउटी सुरूपा युवतीले उससँग प्रेम गर्न थाली । त्यसपछि उसको मनमा खुसीको उन्माद, चिन्ता, तनाव, अधैर्यता आदिका शृङ्खलाहरू सुरु भए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक