मनीषी मदनमणिको भूमिसूक्त : शीतल गिरी (समिक्षा )

मनीषी मदनमणिको भूमिसूक्त : शीतल गिरी (समिक्षा )

कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।

प्रख्यात साहित्यकार मदनमणि दिक्षितको वैदिक उपन्यास भूमिसूक्त एउटा यस्तो सार्थक, संवेदनात्मक र ज्ञानवर्धक कृति हो जसको अध्ययन गरेर हामी मानब सभ्यताको प्रारम्भको संघर्ष र जीवनका विकृतिहरु, तत्कालिन सामाजिक परिवर्तनहरुको उतर चढाव बुझ्न सक्दछौं र त्यस समय, समाज परिवर्तन र त्यसको चाल चलनको विश्लेषण गरेर विगत र वर्तमानको तुलनात्मक अध्ययन पनि गर्न सक्दछौं ।
भूमिसूक्त, माधवी उपन्यास, अमृततत्व र करुणिकता पछिको सर्वोतम उपलब्धी हो । भूमिसूक्त त्यही भूमिको महिमागान हो, जसका सन्तानले गर्वसाथ गाए ‘माता भुमिः पुत्रो अहं पृथिन्याः’ म पुत्र तिम्रो, तिमी धर्ति माता ।
बास्तवमा ऋग्वेदमा रहेको सुत्र (संकेत)लाई कपासको बत्ति काते झै नरम किसिमबाट तत्कालीन जीवन र घटनाहरुको — सरल भाषामा यथार्थपरक र सार्थक उपन्यास बनाउनु भनेको सहज र सरल पक्कै होइन । उक्त सुक्त वैदिक सुक्तहरुको समष्टि सारबाट निर्मित छ यद्यपि तान्त्रिक, पौराणिक, प्राग्दैदिक, अवशिष्ट चिन्हद्धारा अनुमानित सूचना र आधुनिक वैज्ञानिक ज्ञानको सार कविवर माधव घिमिरेले यसमा पाउनु भएको छ ।
कविवर घिमिरेका शब्दमा यसका प्रत्येक सुक्त या सर्ग आफैमा परिपूर्ण छन्, ती एक एकलाई लिएर खण्डकाव्य या महाकाव्य पनि रच्न सकिन्छ । भूमिसूक्त कुनै एक जातिको मात्र महाकाव्य नभएर सम्पूर्ण मानवजातिको, भूमिपुत्रहरुको महाकाव्य हो । भूमिसूक्त सम्पूर्ण भूमिपुत्रकै कविता हो ।
आधुनिक पाखंड, कुरीतिहरु, जातिगत मनोभाव र आर्थिक विषमताको कारणले सिर्जित अमानवीयता व्यहोर्दै रचनाकारले कसरी आफ्नो वैज्ञानीक दृष्टिले विगतलाई नियनलेर यथार्थको नजिक पुगेर आफ्नो लेखन पुरा गर्छ, यो थाहा पाउनको लागि यो कृति पढनु नितान्त आवश्यक छ ।
भूमिसूक्त वास्तवमा बुझ्नको निम्ति प्राचीनको विशद अध्ययन र अर्वाचीनको पनि प्रशस्त ज्ञान प्राप्तगरेकै हुनुपर्छ ।
महाकाल यस गद्य महाकाव्यको महानायक र कथाको सूत्रधार पनि हो ।
यस भूमिसूक्तका अक्षरको प्रारम्भ त्यही अक्षरतत्वबाट हुन्छ । हाम्रो सोचाई एटम र इभले स्याउ खाएर यो दुःखयुक्त संसारको सृष्टि गरेको (वाइवलीय दृष्टिकोण) अथवा व्रह्मापुत्र मनुले आफ्नो दाहिने करङ झिकेर स्त्री बनाएको र उनैबाट सन्तान जन्माई सृष्टि प्रारम्भ गरेको भागवत पुराणका सिद्धान्त विपरित व्रम्हाण्डीय बिष्फोटन विग व्यागका वैज्ञानिक सिद्धान्तलाई मान्यता दिदै त्यही विष्फोटनको फलस्वरुप पृथ्वी बन्न गई त्यहाँ क्रमशः जीवनको आरम्भ भएको र सोही जीवनले मानव रुप लिई उसले क्रमशः आफ्नो स्वरुप आफ्नो ऋतलाई परिवर्तन गर्दै लगेको सिद्धान्तमा गद्य महाकाव्य भूमिसूक्तको बिषयवस्तु आधारित छ । यस गद्य महाकाव्यले त्यस समयका असुरहरको उच्चशिल्प तथा प्रविधिलाई पनि राम्रोसँग दर्शाएको छ ।

असुर जातीको प्रगतिलाई आत्मसात गरी, तिनीहरुसँगै पाईला मिलाई हिड्न सकेको भए आज यो भूमण्डलको उन्नति, प्रगति तथा नैतिकता नै अर्कै हुन्थ्यो होला तर जातीय उच्चताको आग्रहले देवजनले ती असुरहरुको उन्नती प्रगतीलाई नष्ट समेत गरे । हाम्रो धार्मिक मान्यता देवताहरु मथि अन्तरिक्षमा स्थित स्वर्गमा निवास गर्छन भन्ने धारणालाई भत्काउदै देवजन यही पृथ्वीका एक जाति भएको, तिनै देवजनको वासस्थान यही पृथ्वीकै गन्धमार्दन पर्वतमा भएको, इन्द्र देवताका एकमात्र राजा नभई इन्द्र पद भएको तथा सो पद अन्तर्गत थुप्रै देवहरु क्रमशः इन्द्र हुदै गएको आदि धारणहरु विकासवादको सिद्धान्त वुझ्न नखोज्ने पुराण तथा शास्त्र पढने कट्टर धार्मिक व्यक्तिहरुलाई अपाच्य लाग्नसक्छ तर आफ्नो यस सृष्टि प्रति चाख राख्ने व्यक्तिहरुको जिज्ञासा यस पुस्तकले त्यस कल्पनाको तानावाना मिलाई वुनेको रोचक कथाले मेट्ने प्रयासगरेको छ । भूमिसूक्तलाई मैले मानव मस्तिस्कको चित्रणको रुपमा पनि पाएको छु । आज कतिपय वैज्ञानिकहरु प्ुर्नजन्म र आत्माको अमरत्वप्रति सकारात्मक हुन थालेका छन् । पूर्वीय सभ्यतामा किम्वदन्तीहरु प्नि छन् वैज्ञानिक आविष्कार र ज्ञानहरु प्नि छन् ।
सुमेरु पर्वत, क्षनीर सागर, जम्वुद्धिप पनि छन् भने इतिहास, भूगोल र खगोल शास्त्रका प्रगोयसिद्ध तथ्यहरु प्नि छन् ।
संसारको विराटपन र अन्तरिक्ष युगलाई पनि पार गरेर अगाडि बढिरहेको वर्तमान कालखण्डमा हामी तमाम वैज्ञानिक ज्ञान र सूचनाहरु मनभित्र, मस्तिक भित्र राखेर आफ्ना तेत्तीस कोटी देवता स्वर्ग मत्यलोक ग्रहशान्ति आदि कर्मकाण्ड विधीविधानको निर्वाहगर्दै जीवन यापन गरिरहेका छौं ।
भूमिसूक्तले यस्तै मानसिकताको सजीव चित्रण प्रस्तुत गरेको छ । सबैलाई धारण गरेर सबैलाई एउटा अर्थ दिएर नयाँ व्याख्या प्रस्तुत गर्ने प्रयास गरेको छ ।
भूमिसूक्तमा मैले सापेक्षता र निरपेक्षता दुबै पाए, परम्परा र विकास दुबैको प्रसङ्ग भेट्टाए ।
अपेक्षा — सपना र मोहभंगको मिलीजुली प्रक्रियाभएको हुँदा, जीवन भनेको संघर्षको जननी हो । यसबाट मुक्ति कहिल्यै संभव छैन । मुक्ति पछि जीवन नै रहदैन ।
देवत्व र दानवत्व बीचको संघर्षको कथा जस्तो पनि लाग्यो मलाई ।
मृत्युबाट जीवनतिरको अध्यारोबाट उज्यालोतिरको यात्रालाई अविरल रुपमा अघि बढाउनु पर्ने आग्रहका साथ चरैवेतिको आव्हान पनि अन्तरनिहित भएको मैले अनुभव गरे । प्रथम सुक्त महाकालको वाणीमा अत्यन्त सटीन, गहन र प्रौढ प्राज्ञिक भाषामा अविनाशी अक्षर, महाकाल र समयको परिभाषाको साथै सूर्य, पृथिवी र समयचक्रको वस्तुपरक संवादलाई प्रस्तुत गरिएको छ । हिमवानमा जीवन बिषयक दोश्रो सुक्तमा आदिमानवका प्रारम्भिक जीवनबारेका संक्षिप्त चर्चालाई आगोको विकास र कृषि विकासको क्रममा जोडदै उपन्यासकारले महाकालका माध्यमबाट आफ्नो अवधारणा र अवलोकनलाई अभिव्यक्ति दिनुभएको छ । यसैगरी सप्तमार्तका नामक तेश्रो सुक्तमा मातृसतात्मक प्रारम्भिक अवस्थादेखि आदिमाताहरुका विविध क्रियाकलापहरु, पौराणिक कथामा वर्णित शूनशेप गाथा, प्राचेतस प्रजापतिहरुको प्रसंग र सूर्या विवाहका प्रसंगहरुलाई अत्येन्त प्रौढ र प्राज्ञिक भाषा र शैलीमा विश्लेषण गरिएको छ । स्त्रीराज्य शीर्षकको चौथो सुक्तमा मूलतः पृथ्वीका विभिन्न भागमा विकसित भउका र हुँदैगरेका विभिन्न महामातृका र मातृसत्तात्मक व्यवस्था एवम् नरबलिको पक्षबाट यसको प्रतिपक्षतर्फ बढदै गरेका जनसाधारणहरु मूर्ति पूजाको विकासक्रम एवम् विभिन्न राज्यहरुका वीच बिस्तारै बढ्नथालेको आवतजावत र विनीमय प्रथावारे सरल र सुमनोहर शब्दावलीमा विस्तृत विश्लेषण गरिएको छ ।
यसैगरी पाचौं मानवसुक्तमा चाहिं विभिन्न भागमा फैलिदै गरेका अनेकौं मानव समुदायमा विकसित हुँदै गरेका आ आफ्ना परम्परा, वैवश्वत मनुका सन्तानहरुद्धारा विस्तारित मनुको विचार र प्रकारान्तर सहित विस्तारित मानव धर्मको विश्लेषण, भूकम्प र ज्वालामुखि सम्बन्धी मान्छेले सर्वप्रथम अनुभव गरेका पीडाहरु भन्वन्तरीय जलप्रलयको व्याख्या, तत्कालिन मानवले गरेको एशियादेखि अफ्रिकासम्मको यात्राको रोचक विवरण आदि विभिन्न पक्षहरुलाई समावेश गरिएको छ । जसबाट मानव समाजका प्रारम्भिक दिनहरुलाई आफ्नै आँखाले देखेझैं र आफैले भोगेका जस्तो अनुभव गर्न सकिन्छ ।
मातृशिखर र हरियूपिया नामक छैठौं सुक्तमा चाहिं सप्तर्सिहरुको व्यवस्था खग्रास सूर्यग्रहणको दृश्य, विश्वामित्रद्धारा गायत्रीको रजना, पौराणिक आख्यानहरुमा वर्णित त्रिपुरासुरका शहरहरु पणिपति व्यापारीहरुले तयार पारेका विभिन्न चित्रांकित मुद्रा र तिनको उपयोगिता हरियूपियामा विकसित ज्योतिष र यत्रचिति निर्माणका कुरा, देवासुरसंग्राम र समुद्रमन्थनको प्रसंग, विश्वामित्रको गाथा, विभिन्न समयमा भएका मानव सभ्यताको विनाश देखेर पृथ्वीले चुहाएको आँसु, अफ्रिकी भू–भागमा पुगेको करुषको पीढा, कच र देवयानीको पौराणिक आख्यान आदि बारेमा विस्तृत, रोचक र मर्मस्पशी विवरणहरु समाविष्ट छन् ।
यस उपन्यासको सातौं सुक्त पूर्णत नल, दमयन्तीको पौराणिक आख्यानमा आधारित छ । दिवोदास, शम्वरसुक्त यस कृतिको अर्को महत्वपूर्ण अध्याय हो । यस सुक्तमा देवासुर संग्राममा पणि व्यापारीवर्गले वहन गरेको दोहोरो भूमिका विश्वामित्रको विद्धताको प्रसंगहरु र नदी सूक्त, सुदास र सुदेवीको विवाह एवं सुदासको ऐन्द्राभिषेक, अहल्याको मुक्तिसम्वन्धी गौतमसभाको निर्णय आदि विषयमा लेखकको पाण्डित्यपूर्ण दृष्टिकोण शब्दचयन र विश्लेषण अत्यन्त रोचक र मननीय रहेका छन् । नवौं तथा अन्तिम महाकालवाणी सुक्तमा दीक्षितत्यूले आफूलाई साक्षीका रुपमा महाकाल, वक्ताको रुपमा सुर्य र श्रोताको रुपमा पृथ्वी र मानव मार्फत आफ्नो प्रतिनिधित्व गराउनु भएको छ ।
यस बाहेक हरेक अध्यायको अन्तमा राखिएका प्राचीन सभ्यतासंग सम्बद्ध बिभिन्न चिन्ह, चित्र र संकेतहरुको विस्तृत व्याख्यालाई बुझ्ने जमर्को गर्नु त अझैं थप रोचक पक्ष छ र यसबाट प्रस्तुत कृतिको स्तर र महत्व अझै बढेको कुरामा दुईमत छैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।