चन्द्रागिरी नगरपालिका वडा नं.११ को प्रशासकीय भवन निर्माणको शिलान्यास सम्पन्न
कपन अनलाइन
काठमाडौं फाल्गुन २० । चन्द्रागिरी नगरपालिका वडा नं.११ को वडा कार्यालयको प्रशासकीय भवन निर्माणको शिलान्यास गरिएको छ ।चन्द्रागिरी नगरपालिका वडा नं.११ सतुंगलमा आयोजित एक कार्यक्रममा चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले सो वडा कार्यालय भवन निर्माणको भुमिपुजन सहित शिलान्यास गरेका हुन् । २५ आना जग्गामा निर्माण हुन लागेको सो वडा कार्यालय भवन करिब रु.३ करोडको लागतमा निर्माण गर्न लागिएको हो ।कार्यक्रमलाई संबोधन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले सबै वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्य अनुरुप नगरपालिकाले वडा कार्यालय भवन निर्माण कार्य गरिरहेको बताउदै भवन निर्माण कार्य सकिए पछी वडा कार्यालयबाट हुने कामहरुलाई व्यवस्थित र वडाबासीमैत्री बनाउन सहज हुने बताएका थिए ।नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने बताउदै नगर प्रमुख गिरीले नगरपालिकाको भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कामहरुलाई सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
प्रमुख गिरीले पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, पशु, वन, सुशासन, सूचना प्रविधि, सम्पदा तथा संस्कृति संरक्षण लगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको बताए। उनले चन्द्रागिरी नगरपालिकालाई शान्त, समृद्ध, पर्यटकीय र नमूना नगरपालिका बनाउने उद्देश्यका साथ नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको समग्र विकास र समृद्धिका लागि संघीय सरकार र प्रदेश सकरारसंग सहकार्य र समन्वय गरेर नगरपालिकाले कार्य गरिरहेको बताए । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले वडा कार्यालय भवन सुबिधा सम्पन्न हुने बताउदै वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएपछि नगरपालिकाबाट प्रदान गरिने विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताइन ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका वडा नं.११ का वडा अध्यक्ष समेत रहेका नगर प्रबक्ता हरिभक्त महर्जनले भवन निर्माणका बारेमा जानकारी दिदै भवन निर्माण पछि वडालाई समृद्ध वडा बनाउन अझ बढि सहयोग पुग्ने बताए । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र ११ नं.वडाका वडाबासीहरुको सहभागिता रहेको थियो ।