सत्ता गठबन्धनको आयु धेरै छैनः एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं,  फागुन १५  ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको आयु धेरै बाँकी नरहेको दाबी गरेका छन् । एमालेले नै गठबन्धन तोडिदिने उनको भनाइ छ । बुढानीलकण्ठ वडा नम्बर ६ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले भने, ‘हाम्रो पार्टीविरुद्धको घेराबन्दीलाई भत्काउँछैँ । सत्ता गठबन्धन टुट्छ, हामी तोड्दिन्छौँ ।’

गठबन्धन कसरी तोडिन्छ भन्नेबारे चाहिँ उनले खुलाएनन् । सत्ता गठबन्धनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चा छन् । एमसीसीलाई लिएर गठबन्धनभित्र तीव्र ध्रुवीकरण छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले आगामी तिनै तहको निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरे ।

‘यसका लागि गाउँ, टोलबाटै साथीहरू खट्नुपर्छ । हामी पहिलो दल बन्छौँ, बन्नुपर्छ’, उनले भने । प्रदेश सांसद्समेत रहेका एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले पार्टीको वडा कमिटी सदस्यहरूलाई शपथ गराए । ‘चुनावमा हारजितका लागि टोल कमिटीको भूमिका अहम् हुन्छ’, उनले भने, ‘त्यसैले तपाईंहरू निर्वाचनको तयारीमा डटेर लाग्नुहुन्छ भन्ने विश्वास छ ।’

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले . पाँच वर्षमा आफूले विकासका थुप्रै काम गरेको दाबी गरे । ‘आउँदो निर्वाचन दलको परीक्षा हो । यही नै बहुदलीय व्यवस्थाको परिपाटी पनि हो । हामीले गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्छ, बुझाउनुपर्छ । निर्वाचन हाम्रा लागि परीक्षा हो’, मेयर खरेलले भने ।

एमालेका स्थानीय नेता रवि खड्काले आफूहरू स्थानीय तह चुनावको तयारीमा लागिसकेको बताए । भने, ‘११ वटा टोल कमिटीमध्ये हामीले ६ वटा टोल कमिटी बनाइसकेका छौँ । सबै टोलवासीलाई एक ढिक्का बनाएर चुनावको तयारी र पार्टीका उम्मेदवारलाई जिताउन लागेका छौँ ।’

तपाइँको प्रतिक्रिया ।