जुत्ता :डा. गोबिन्दशरण उपाध्याय
कपन अनलाइन
काठमाडौं, फागुन १४।
उनी मेरो डेरा छेउको एउटा घरमा कोठा लिएर बाबुआमासँग बस्थिन् । बुवा ड्राइभर थिए, आमा यताउती काम गर्थिन् । मैले धेरै पटक उनकी आमा रोएको र उनी स्वयं पनि बाहिर बसेर रोएको देखेको थिएँ । एक साँझ उनी रूँदै स्कूलबाट आफ्नो घर आइन् । सरले ‘भोली पनि फाटेको जूत्ता लाएर विद्यालय आयौँ भने कक्षाकोठाबाट बाहिर निकालिने छौँ’ भन्नुभएको रहेछ । उनको बुबा भने आमालाई गालीगलौज गर्न मस्त थिए ।
भोलीपल्ट उनी विद्यालय जान मानिनन् ।
बुबाले लौरोले पिटेर विद्यालय पठाउन खोजे । उनी भन्दै थिइन् ‘सरले फाटेको जूत्तासँग कक्षामा बस्न दिनुहुन्न’ तर जड्याहा बाबुले कुरा सुनेनन् । आमासँग नयाँ जुत्ता किन्ने पैसा थिएन ।
हाम्रो छोराले (७ वर्षको) उनी चिच्याईचिच्याई रोएको देखेको, सुनेको र बुझेको थियो । उसँग दूई जोडी जुत्ता थिए ‘बाबा, मसँग दुई जोडा छन्, दीदीलाई दिउँ न ? बालिका रूँदै गरेको देखेर भन्यो
म पनि ती बालिकालाई सहयोग गर्न चाहन्थें तर अस्वीकार गर्ने वा ‘अर्को अर्थ’ लाग्ने डरले बोल्न सकेको थिइन । छोराले आँफै जुत्ता पोको पारेर रूँदै गरेकी बालिकासम्म गयो । संयोगले जुत्ता पनि ठ्याक्कै उनलाई मिल्यौं । जूत्ता देखेर बालिका खुसी भइन् ।
जुत्ता फाट्नुमा बालिकाको कुनै गल्ति थिएन र आफै ६–७ वर्षकी बालिकाले कमाएर नयाँ जुत्ता प्राप्त गर्न सक्दैनथिन्, विद्यालयका शिक्षकले बालिकालाई धम्की दिनु उचित थिएन ।
आफै संज्ञान लिएर बालिकालाई जुत्ता दिएकोमा मेरो छोराप्रति मैले गौरव गर्छु, मैले गर्न नसकेको वा गर्न नमिलेको काम उसले आफै ग¥यो ।
बालिकाको कृतज्ञतापूर्ण खुसी र छोराको स्वस्फूर्त सहृदयी व्यवहारले म कृतज्ञ भएको अनुभव गर्छु ।