अमेरिकालाई नेपालको चिठी : दिलिप पहाडी ( कविता )
कपन अनलाइन
काठमाण्डौ , फागुन १४ ।
आफ्नै पखेटाको पौरखमा बाँचेको चरा हुँ
पिजडा भित्रको परिकारमा लोभिन्न म
आजसम्म आँच नआएको अस्तित्व हुँ
कसैलाई शङ्का लाग्दैमा जोखिन्न म ।
म पूजा गर्छु – प्रकृतिको
आराधना गर्छु – म मेरै पशुपतिको
न्युयोर्क तँ झै आधुनिक बन्न
यदि गर्नुपर्छ भने
मैले आफ्नै चरित्रको चीरहरण
बरु पुरातनपन्थी भएर बाँच्छु
समय लाग्ला,
मैँ बनाउँछु – मेरो आधुनिक आकाश
समय लाग्ला,
मैँ बनाउँछु – मेरो समृद्धिको गुँड
यसर्थ म मेरै इच्छामा
अझै अभावको पन्छी भएर बाँच्छु ।
म भित्रै वैभव छ
म बाटै सम्भव छ
म छिट्टै देखाउने छु
संघर्ष कसरी गर्नुपर्छ ?
परिचित छु ।
मलाई पनि थाहा छ,
म भूपरिवेष्ठित छु ।
भरोसा आफैसँग गर्नु छ मलाई
अरुको भर परेमा कति पाइन्छ,
कति पाँइदैन
जोसुकैले देओस् मलाई
अनुदार पूर्वक दिइने
अनुदान मलाई चाँहिदैन ।
गोर्खाली हुँ
कसैको हुँकारले खुट्टा कमाउँदिन
मालिक हुँ सगरमाथाको
शिर झुकाएर कसैको जुत्ता समाउँदिन ।
तिम्रो अनुदानको अनुसन्धान म पनि गर्न सक्छु
म आफ्नो समस्याको आफैं निदान गर्न सक्छु ।
हो तिमी जतिकै हुन मलाई पनि मन छ
हो तिमी जतिकै हुन मलाई पनि मन छ
दुःख लाग्छ,
यता मुलुक चलाउनेहरुले मुख मात्रै चलाइरहे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक