म यस्तो सपना देखौँ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ , फागुन १४ ।
१. म यस्तो सपना देखौँ जहाँ आकाश छ्याङ्ग होस्
फूलले ढाकियोस् धर्ती बास्ना हावा भरी बहोस्
गरून् बादलले रम्य खेतबारी गराहरू
भरून् सौन्दर्यले टम्म फुलबुट्टे थलाहरू ।
२. आस्थाका विरुवा रोप्न लागून् मान्छेहरू सबै
बोकेर प्रेमको थाली जागून् भान्छेहरू सबै
टेकी प्रकृतिको पङ्खा कुदून् हिँड्नेहरू सबै
इन्द्रेनीको बनी साथी उडून् गुड्नेहरू सबै ।
३. बाटोमा निस्किएकाले पाऊन् गन्तव्यको धुरी
माटोमा उभिएकाले पाऊन् उमङ्ग बाँसुरी
सबैका चित्तमा छावोस् सेवाका भाव पल्लव
सबैका मनमा आओस् हुन्न भन्ने असम्भव ।
४. नपरोस् कहिल्यै सुन्नु लडाइँतिरका कुरा
नपरोस् कहिल्यै भेट्नु अनेकौँ पिरका कुरा
नपरोस् कहिल्यै देख्नु धाक वा धक्कुका कुरा
नपरोस् कहिल्यै भोग्नु छुरा वा चक्कुका कुरा ।
५. त्यो एकै राज्य होस् सृष्टि घाम जून पुगे जति
धुक्धुकी एउटै होवोस् सिर्जनामा उभे जति
बोकेर मित्रता बाँच्ने भावना सबको रहोस्
राखेर शत्रुता हिँड्ने मान्छे कोही कतै नहोस् ।
६. पुस्तौँ पोस्न भनी कोही नलागोस् लुट्न बेसरी
उठाओस् बरु त्यो कैल्यै नलागोस् थिच्न बेसरी
सीमास्तम्भ अरूको त्यो नलागोस् मिच्न बेसरी
पाएँ भनी कठै मान्छे नलागोस् घिच्न बेसरी ।
७. पढ्नुपर्छ सधैँ मान्छे व्यवहार पढी रहोस्
चढ्नुपर्छ सधैँ मान्छे किल्ला अग्ला चढी रहोस्
लड्नुपर्छ सधैँ मान्छे सत्कर्ममा लडी रहोस्
बढ्नुपर्छ बनी त्यागी कर्तव्यमा बढी रहोस् ।
८. एकै आकाश मान्छेको सुख दुःख समान होस्
भविष्यको गरी जोहो उज्यालो बर्तमान होस्
पाइयोस् फूर्तिले हिँड्न बाँध्ने दाम्लो कतै नहोस्
जालीका जालले बेर्ने माखेसाङ्लो कतै नहोस् ।
९. आमाका गहमा आँसु जहिल्यै हर्षका बहून्
हातमा लुटका हैन ठेला सङ्घर्षका रहुन्
बम बारुदका छर्रा बस्तिमा नझरोस् कतै
आएर साहुको साँडे खेतमा नचरोस् कतै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक